कर्णाली विवाद साम्य पार्न प्रचण्ड र नेपाल समूह छलफलमा

काठमाडौं । सत्तारूढ नेकपा कर्णालीको संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले आइतबार अविश्वासको पत्र दर्ता गराएपछि नेकपाको आन्तरिक राजनीतिले अर्को मोड लिएको छ ।
अहिले प्रदेशकाे विवाद केन्द्रसम्म पुगेकाे छ । शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै अध्यक्ष प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । उनले अविश्वास प्रस्ताव गराउने तीन सांसदलाई प्रस्ताव फिर्ता लिन समेत भनेका थिए । यद्यपी विवाद सुल्झिएको छैन।
विवाद साम्य पार्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । साेमबार पनि नेताहरू छलफलमा जुटेका थिए ।
आज पनि बिहानैबाट छलफल जारी छ । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराएका प्रधानमन्त्री ओली निकट यमलाल कँडेल पक्षसँग भने छलफल हुन सकेको छैन । तर, प्रचण्ड र नेता नेपाल पक्ष भने सहमति नजिक नै पुगेको स्रोतले बताएकाे छ । नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछि हटे मुख्यमन्त्री शाही फेरि बहुमतमा हुनेछन् ।








