मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु (भिडियाेसहित)

ओलीलाई दाहालको आग्रह–‘कर्णालीको विवाद तपाईँ मिलाउनुस्’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार बालुवाटारमा भएको भेटमा कर्णालीमा भएको कुरा राम्रो नभएको बताउँदै दाहालले ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

दाहाल सचिवालय स्रोतले जनाएअनुसार एकताको बाँकी काम नै नसकी पार्टीभित्र देखिएको यस्ता गतिविधि दुःखद् भएको बताउँदै दाहालले ओलीलाई यस्तो आग्रह गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध हिजो मात्रै नेकपाकै १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कर्णाली प्रदेशमा नेकपाको विवाद चुलिँदै, भोलिका लागि छुट्टाछुट्टै संसदीय बैठक आह्वान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेसँगै भोलिका लागि दुई छुट्टाछुट्टै संसदीय बैठक डाकिएको छ ।

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् । सोमबार प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार १ बजेका लागि दलको बैठक बेलाएका छन् । तर, उनलाई आजै प्रमुख सचेतकको जिम्मेवारीबाट हटाइएको छ ।

मुख्यमन्त्री शाहीले शाहको ठाउँमा सीता नेपालीलाई ल्याएका छन् । यस्तै नेपालीले पनि मंगलबारकै लागि संसदीय बैठक डाकेकी छन् । शाहले ११ बजेका लागि डाकेकामा नेपालीले भने बिहान ११ बजे नै डाकेका छन् ।

कोमामा गएका दलका नेताले निर्णय गर्न मिल्दैन : शाह

नेकपा कर्णाली प्रदेशका निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहले कोमामा गएका दलका नेताले पदमुक्त गर्न नमिल्ले बताएका छन् । आज मात्रै मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई पदमुक्त गरी सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अविश्वासको प्रस्ताव झेलिसकेका दलका नेताले कुनै निर्णय गर्न नमिल्नेसमेत उनले बताएका छन् ।

आजको कोरोना अपडेटः थप ९ जनाको मृत्यु, कति थपिए संक्रमित ?

नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १ हजार ८ सय ८८, भक्तपुरका १ सय १८ र ललितपुरका २ सय ७७ रहेका छन् ।

‘सही नीति लिन नसक्दा नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसक्यो’

नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् ।
पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौंथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीको भनाइ छ ।

भिडियाे:

काठमाडौं उपत्यकाभित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको पनि उनले बताएका छन् ।

उनले कोरोना संक्रमणको सुरुआतमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताए ।

बाबुराम भट्टराईसँग विवेकशीलको आग्रह : ‘९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनुस्’ 

विवेकशील नेपाली दलले जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ९ अर्बको भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिन आग्रह गरेको छ ।

नेपाली दलका नेता तथा प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति निकाल्दै बूढीगण्डकी जलविद्युत आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण अख्तियारलाई दिन आग्रह गरेका हुन् ।

केही दिनपहिले गृहजिल्ला गोरखा पुगेका भट्टराईले बूढीगण्डकीमा तीन नेता मिलेर ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएकामा कांग्रेसले यसअघि नै प्रमाणतः पुष्टि गर्न चुनौती दिइसकेका छन् ।

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

यसैबीच मन्त्रालयले आजै आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

शेयर बजारमा सामान्य सुधार, आज कारोबार कति ?

शेयर बजार आज सामान्य अंकले सुधार भएको छ । शेयर आज १.७४ अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७८.०१ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार १ सय ९४ रुपियाँ बराबरको कारोबार भएको छ ।

शेयर बजार सामान्य अंकले बढेको दिन आज विकास बैंक समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले दिएको १६३ रनको लक्ष्य पछाएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अजीवित ६९ रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ४२ रन बनाएका थिए ।

त्यस्तै आजिख्य रहानेले १५, मार्कोस स्टोइनिसले १३ र एलेक्स केरीले १४ रन बनाएका थिए । मुम्बईका बलर क्रुनाल पाण्डेयले २ विकेट लिए भने ट्रेन्ट बोल्टले एक विकेट लिएका थिए । यो जितसँगै मुम्बईले ७ खेलमा ५ खेल जितेर अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ ।

बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ ।
केहीसमय अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए ।

प्रतिक्रिया