‘थलिएको अर्थतन्त्रलाई माथि उठाउन सरकार र निजी क्षेत्र बसेर छलफल गर्नुपर्छ’ : सुरज वैद्य (भिडियोसहित)

पर्यटन, अटोमोबाइल्स, चिया उद्योग र हालै मात्र सिमेन्ट उद्योगमा समेत हात हालेका देशका प्रतिष्ठित व्यवसायी हुन् सुरज वैद्य । उनले नेपाल भ्रमण वर्ष सन् २०२० का संयोजक भएर पनि काम गरे । तर, कोरोनाको कारणले पर्यटन वर्ष स्थगित भयो ।

कोरोनाको कारणले थला परेको व्यवसायीक क्षेत्रलाई कसरी अगाडी बढाउने, नेपालमा लगानीको संभावना कस्तो छ भनेर नेपाल उद्योग वाणिज्य महासंघमा पूर्वअध्यक्ष, सार्क चेम्बर टूरिजम काउन्सिल कमिटीका पुर्व सभापति तथा वैद्य अर्गनाइजेसन अफ इन्डष्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्यसँग मकालु खबरका राजाराम न्यौपानेले गरेको कुराकानीको संक्षेपः

लकडाउनले सबै क्षेत्रलाई समस्यामा पर्यो अब कसरी माथि उठ्ने ?

कोरोना भनेको कुनै ठाउँ वा क्षेत्रमा मात्रै लागेको हैन । संसारभर नै फैलिएको छ । कोरोनाले भारतलाई पनि त्यस्तै समस्या पारेको छ । अमेरिका जस्तो देशको अर्थतन्त्रमा पनि नकारात्मक असर पारिरहेको अवस्थामा नेपालमा कोरोनाले साना, ठूला, मझौला सबै क्षेत्रलाई समस्या पारेको छ ।

समस्या छ भनेर उद्योगी व्यवसायी चुप लागेर बस्ने हैन, व्यापारीहरुले व्यापार गर्दा सधैं फाइदा मात्रै हर्ने पनि हैन । व्यापार व्यवसाय भनेको जोखिम बहन गर्ने क्षेत्र हो । कुनैमा फाइदा हुन्छ, कुनैमा नोक्सान हुन्छ, कुनै अन्तराष्ट्रिय ब्राण्ड पनि बन्न जान्छन । तर, समस्या भयो भनेर डराउने समय भने हैन ।

कोरोनाको संक्रमणमा सरकारले उद्योग तथा व्यापार क्षेत्रका लागि गरेको कामको कसरी विष्लेषण गर्नुहुन्छ ?

सरकारले आफ्नै तरिकाले राहत दिने काम गरिरहेको छ । तर, त्यसले मात्रै हाम्रो अर्थतन्त्रलाई माथि उठाउन सक्दैन । हामी जहाँ छौं, त्यहीँबाट हाम्रा काम अगाडी बढाउनु पर्छ । कोरोनाले हाम्रो अर्थतन्त्र माथि उठाउन समय दिएको छ । हामीले गरिरहेको अनउत्पादक कामहरुलाई उत्पादनमूलक लगाउने समय यो हो ।

कोरोना महामारीको समयमा उद्योगी व्यवसायीले नयाँ के गर्न सक्छन् ?

यो बेला योजना बनाउने समय हो । त्यही योजना अनुसार नयाँ र राम्रा काम अगाडी बढ्न सकिन्छ । कोरोना कहिले सकिन्छ भन्ने पनि छैन । योसन् २०२०, २०२१ वा २०२२ सम्म पनि रहन सक्छ । त्यसकारण कोरोना भयो, आयो अब सबै खत्तम भयो भनेर हैन कि अब आर्थिक क्षेत्रलाई कसरी बलियो बनाउन सकिन्छ सो बारे योजना बन्न आवश्यक छ ।

निजी क्षेत्रलाई उकास्न सरकारले राम्रो राहत प्याकेज ल्याउन सकेन भन्छन् ? कस्तो खालको राहत आउनु पर्दथ्यो ?

नेपाल उद्योग वाणिज्य महासंघ र अन्य संस्थाहरुले यो कुरा उठाइ रहेका छन् । ती संस्थाहरु भनेको व्यापारी र उद्योगीहरुको नेतृत्व लिने संस्था पनि हो । उहाँहरुले केही काम गरिरहनु भएको मलाई लागिरहेको छ ।

मेरो व्यक्तिगत हिसाबमा सरकारले राहत देला भनेर कुर्नु व्यवकुफी हो । सरकारले कसलाई राहत दिने ? सरकारसँग राहत दिन के छ ? दिने आधार के के हुन् ? कति दिने, कसरी दिने भन्ने हो । यसका लागि सरकारले मूल समस्या बुझेर अहिलेको अर्थतन्त्रलाई राम्रो बनाउने योजना बनाउनु पर्छ । उत्पादनमुलक क्षेत्रमा रोजगारी कसरी वृद्धि गर्ने सोच्नु पर्छ ।

होटल तथा पर्यटन व्यवसाय बन्द हुँदा त्यहाँ आश्रितले घर कसरी सञ्चालन गरिरहेको होलान् यो निजी क्षेत्रले सोच्ने विषय हैन ?
पक्कैपनि कुनैपनि संस्थाका आश्रितहरुको घरपरिवार कसरी चलाउने संस्थाले सोच्ने कुरा हो ।

सरकार उद्योगी व्यवसायीलाई राहत दिन कति सक्षम छ मलाई थाहा छैन । कर घट्दै गइरहेको छ । विकसित देशहरु पनि समस्यामा छन् । विगतमा हामीलाई राहत दिने देशहरुबाट पनि कम सहयोग हुन थालेको छ ।

अब हामी आफै नयाँ रुपमा अगाडी बढ्नु पर्छ । आर्थिक संकटमा रहेका देशहरु कसरी अगाडी बढ्न खोजिरहेका छन् सोहि अनुरुप हामीले योजना बनाउन आवश्यक छ ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने तयारी गरिरहेको छ ? अहिलेको अवस्थामा नेपालमा विदेशी पर्यटक आउने अवस्था छ ?

म पनि त्यही सुनिरहेको छु । नेपालमा अहिले विदेशबाट पर्यटक आउने वातावरण नै छैन । अब ट्राभल एजेन्सीहरु पनि खोल्ने कुरा भएको छ । नेपाल घुम्न जान्छु भनेर आजको दिनमा को आउँछ ? पर्यटक आएको खण्डमा त्यसले झन रोगलाई वृद्धि गर्यो भने त्यसलाई हामी रोक्न सक्छौं ? तसर्थ यस्ता विषयमा हचूवामा निर्णय गर्नुहुँदैन ।

आजको भोलि नै कोरोनाको समाधान आउँदैन । सत्य के हो भने २०२० मा भ्याक्सिन आउने अवस्था छैन । २०२१ को सुरुतिर आउँला । भ्याक्सिन बनेर नेपाल आएर अवस्था सामान्य हुने भनेको सन् २०२२ तिर हो । हामीले २०२२ को लागि नै तयारी गर्नुपर्छ ।

अहिले सरकार र निजी क्षेत्र एकै ठाउँमा बसेर अब कसरी अगाडी बढ्ने छलफल गर्दै जाने बेला हो ।

सरकारले मापदण्ड बनाएर उद्योग र व्यापार सञ्चालन गरौं भन्दैछ, यो कति सहज छ ?

समयले नै नयाँ कुरा ल्याउँदो रहेछ । चीन किन सफल भएको छ, र आज संसारको उत्पादनको केन्द्र बन्यो भनेर सबैले बुझ्न जरुरी छ ।

उदाहरणका लागि, मेरो सानो हुवासिन सिमेन्ट उद्योग बन्दै छ । त्यहाँ चीनियाँले २ सय ५० जना चीनीयाँ र ३ सय नेपाली बस्नका लागि पहिले सबै सुविधा भएको पूर्वाधार बनाए । उनीहरुले पहिले मजदुर आएर बस्नका लागि ठाउँ तयार बनाए । त्यस पछिमात्रै उद्योग निर्माणको काम सुरु गरे ।

पहिले उद्योगभन्दा पनि मजदुर बस्ने ठाउँको व्यवस्था गर्दा बस्ने ठाउँ भाडामा खोज्नु परेन । उनीहरु त्यही कम्पाउन्ट भित्र सुरक्षित रहने छन् । उद्योग भित्र नै बस्ने ठाउँ भयो भने कोरोना मात्रै हैन । कोरोना जस्ता अरु रोग आउँदा पनि बस्नका लागि समस्या नहुने भो । पहिले त्यस्तो थिएन ।

अब मजदुर राख्ने घरहरु बन्दा सरकारले ती घरहरुको कर छुट दिनु पर्यो । भन्नुको अर्थ, अब हामीले दिर्घकालिन योजना बनाएर मात्र उद्योगहरु सञ्चालन गर्नुपर्छ भन्ने हो ।

हामीलाई कोरोनाले के सिकायो ?

हामीले आजको लागि मात्रै नभएर भोलीको लागि पनि तयारी गर्नुपर्छ भनेर कोरोनाले सिकाएको छ । हामी भुकम्पको समयमा पाल मुनि सुतेका थियौं । तर, अहिले पनि पुरानो तरिकाले नै घरहरु निर्माण भइरहेका छन् । हामीले पछि पनि त्यस्ता समस्या आउँछन भनेर बिचार गर्नु अवाश्यक छ ।

नेपालमा नयाँ उद्योग स्थापना गर्ने वातावरण कस्तो छ ? किन विदेशीहरु लगानी गर्न मान्दैनन् ?

म महासंघमा २५ वर्षसम्म आवद्ध रहदा आर्थिक विकास हुनुपर्छ भन्ने नारा नै बोकेर हिँडेका थियौं । हामीले अर्थ र राजनीति एकअर्काको परिपूरक हुन पनि भनेका थियौं ।

नेपालमा आर्थिक विकास गर्छौं भन्दै भाषण मात्रै हुने गरेको छ । हामीले जुन आधारमा हाम्रो अर्थतन्त्र अगाडी लानुपर्ने हो, त्यो आधारमा रणनीति बनाउन नसकेकाले पनि विदेशी लगानीमा पछि परेका हौं ।

नेपाल शब्द एउटा यस्तो ब्राण्ड हो । त्यो ब्राण्डको बारेमा नेपालीले बुझेर विश्वभरलाई नै मार्केटिङ गर्न जरुरी छ ।

महासंघको अध्यक्ष हुँदा पहिलो लगानी सम्मेलनमा मैले मलेसियाको राजालाई नेपाल ल्याएको थिए । त्यति बेला उनले मलेसियामा लगानी गर्न आउनेहरुको चाहनालाई बुझेर काम गरेको बताएका थिए । मैले के लिनेभन्दा पनि के दिने भनेर सोचेको थिए । मलाई धेरैले भनेका थिए त्यसले ठिक गर्दैन । आज नभएपनि ५ वर्षपछि त्यसले राम्रो प्रतिफल दिन्छ भनेर मलेसियन राजाले भनेका थिए ।

लगानीको विषयमा सरकार के दिनेभन्दा पनि के लिने भनेर सोच्छ । के लिने भन्ने कुरा त ५ वर्षपछि आफैं आउँछ । उद्योग होटल लगायतमा सरकारले लगानीका लागि राम्रो निती बताउनु पर्छ ।

विदेशीले आएर नेपालमा गरेको लगानी ५ वर्ष पछि बोकेर जाने हैन । त्यसले नेपालमा नै रोजगारी सिर्जना गराउने हो ।
अर्थमन्त्रीहरुले मैले यति कर उठाएँ उति उठाएँ भन्छन् । कर उठाउने मात्रै काम हैन ।

अर्थमन्त्रीले भन्नसक्नु पर्यो मैले यतिवटा अस्पताल, विद्यालय र यति किलोमिटर राम्रो बाटो बनाए भनेर । कर उठाउने मात्रै कुरा गरेर देश विकास हुँदैन ।

हामीले पर्यटकलाई कसरी आकर्षण गर्न सक्छौं ?

हामी ठूला दुई देशको बिचमा छौं । हामीले चीन र भारतबाट मात्रै पर्यटक ल्याउन सक्यौं भने पनि हाम्रो पर्यटन क्षेत्रमाथि उठ्छ तर, हामीले बुझिरहेका छैनौं ।

लगानी सम्मेलनमा आएकाहरुले नेपालमा लगानी गर्छु भनेर गरेका प्रतिवद्धताहरु के कारणले पुरा नगरेका होलान् ?

हामी कतै गयौं र भोक लाग्यो, मानौं हामीसँग १० रुपियाँ मात्रै छ । त्यहि १० रुपियाँको पनि राम्रै खोजिरहेका हुन्छौं । विदेशी लगानीकर्ता पनि त्यस्तै हुन । जता लगानीको वातावारण छ उतै जान्छन् ।

नेपाल जस्तो लगानी योग्य मुलुक विश्वभर धेरै छन् । लाओस, कम्बोडिया, श्रीलंका र माल्दिभ्सं लगायतका देशले लगानी खोजेका छन् ।

तर, हामीले लगानी कर्तालाई के दिइरहेका छौं भन्ने नै हो । पछिल्लो पटक भएको लगानी सम्मेलनमा पहिलेको तुलनामा २ गुणा धेरै लगानी कर्ताहरुले नेपालमा लगानी गर्ने इच्छा देखाएका थिए ।

नेपालमा लगानी सम्मेलन हुँदा सबै राजनीतिक दलका नेताले आउनुस् नेपालमा लगानी गर्नु हामी निती सुधार गर्छौं, विदेशबाट पैसा ल्याउन सजिलो बनाउँछौं भन्छन् तर, त्यो बोलीमा मात्रै सिमित भयो ।

फिलिपिन्समा विदेशी लगानी कर्ताले लगानी गर्न जाने हो भने त्यहाँको सरकारले नै उद्योग स्थापना गर्न जग्गा खोजिदिन्छ । त्यहाँको कानुन मानेपछि ५ वर्ष सजिलैसँग भिजा, घर किन्न र भन्सार छुटमा १ वटा गाडी किन्न पाइन्छ । तर, नेपालमा विदेशी लगानी कर्ताको लागि सरकारले के दिन सकेको छ ?

नेपालमा उद्योग सञ्चालन गर्छु भनेर एउटा फाइल उठाउन ६ देखि ८ महिना लाग्ग्छ । निती नराम्रो भए केही हुँदैन तर, उद्योग स्थापना गर्न कति समय लाग्ने हो प्रष्ट हुनुपर्छ ।

तपाईँले भिजिट २०२० का लागि केही समय संयोजक भएर काम त गर्नुभयो तर, कोरोनाको कारणले रोकियो ? अब नेपालमा पर्यटक भित्र्याउन के गर्ने ?

मैले संयोजक भएर काम गर्दा पर्यटकबाट के लिनेभन्दा पनि के दिने भनेर काम गरिरहेको थिँए । तर मैले बुझाउन नसकेको होला, हाम्रो पर्यटन शहर केन्द्रीत भयो । रारा र पाथिभरा लगायतका ठाउँमा अहिले पनि पर्यटक जाँदा बस्ने ठाउँ छैन । त्यस्तो ठाउँमा ठूला होटल र एयरपोर्टहरुको निर्माण गरेर नै पर्यटकको विकास गर्ने हो ।

अहिले कोरोनाको समयमा पर्यटकलाई बोलाउने समय हैन । विदेशीले १५ दिन मात्रै छुट्टि पाउँछन् । नेपालमा क्वारेन्टाइनमा बस्ने गरेर पर्यटक आउँदैनन् । हामीले सन् २०२२ लाई लक्षित गरेका काम गर्नुपर्छ । अब भ्रमण वर्ष २०८० लाई बनाउनु पर्छ ।

२०८० लाई भ्रर्मण वर्षको रुपमा मनाउन के के गर्नुपर्छ ?

एनआरएन र निजी क्षेत्र एकै ठाउँमा बसेर छलफल गरेर अगाडी बढ्नु पर्छ । २० लाख पर्यटक हैन, नेपाललाई चिनाउन मात्रै पर्यटक ल्याउँ । २ वर्षको समय छ योजना बनाएर अगाडी बढ्दा राम्रो हुन्छ ।

प्रतिक्रिया