गुल्मीबाट विष्फोटक पदार्थ बरामद

गुल्मी । रेसुङगा नगरपालिका-३ रेसुंगा संरक्षित बनको गौशाला क्षेत्रबाट विभिन्न बिष्फोटक पदार्थ, लु३६ प ४८५६ र लु१६ प १९१७ नम्बरको मोटरसाइकल शनिबार राति प्रहरीले बरामद गरेको छ ।
हातहतियार तथा विष्फोटक पदार्थ लिई अवैध रुपमा वन्यजन्तु पशुपंक्षी चोरी सिकारी गर्न गएको भन्ने खबर प्राप्त भएपश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले विस्फाेटक पदार्थ, माेटरसाइकल बरामद गरेकाे हाे ।
उक्त मोटरसाइकहरुमा राखेको झोलाबाट २ सय ७५ ग्राम बारुद, १ सय १५ ग्राम फलामको छर्रा, ६० ग्राम किटको छर्रा, १ सय ५० ग्राम सिसाको छर्रा, २१ थान केप, २ रोल केपमा प्रयोग हुने पटाका, ३ थान ब्याट्री, २ थान पेचकस र २ थान सियो, विभिन्न ईलेक्ट्रोनिक्स सामान र पंक्षी प्रजातिको भुत्ला समेत फेला पारी बरामद गरेको हो ।
साथै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








