कलिउड र बलिउडका दुई हस्ती, जसले आज एकैदिन मनाउँदैछन् जन्मोत्सव

काठमाडाैं । बलिउड र कलिउडका दुई हस्तीकाे आज एकै दिन जन्मदिन परेकाे छ ।

नेपाली चलचित्र जगतका बहु प्रतिभाशाली अभिनेता, निर्देशक, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह  र बलिउड अभिनेेता अमिताभ बच्चनकाे आज (आइतबार) एकैदिन जन्मदिन परेकाे हाे ।

आफ्नो ७५ औं जन्म जयन्ती मनाइरहेका शाहलाई सामाजिक संजालबाट शुभकामना दिने चलचित्रकर्मी तथा उनका शुभेच्छुकहरुको ओइरो लागेको छ । सन् १९४५ जुलाइ ७ मा जन्मीएका शाहले अभिनय गरेको पहिलो चलचित्र ‘परिवर्तन’ हो । उनले ‘कुसुमे रुमाल, नाता रगतको, बादलपारि, सिउँदोको सिन्दुर, जीवनसाथी, मुना मदन, सानो संसार, किस्मत’ लगायतका थुप्रै चलचित्रममा अभिनय समेत गरिसकेका छन् ।

उनले ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायतका चलचित्रहरु निर्देशन समेत गरिसकेका छन् भने, केहि चलचित्रका गीतहरु पनि लेखेका छन् । उनले लेखेका ‘पर्खिबसे आउला भनी, छोरी मलाई भागी भागी नसताउ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्ती’ लगायतका गीतहरु हिट समेत भए । उनी नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष समेत हुन् ।

चलचित्र क्षेत्रमा उनलाई ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । उनी अहिले पनि चलचित्र क्षेत्रमा निकै नै सक्रिय रहेका छन् । शाह अहिले म्युजिक भिडियो, टेलि चलचित्रदेखि ठुला पर्दाका चलचित्रमा सक्रिय रहेका छन् । हरेक क्षेत्रमा सक्रिय रहेका शाहले थुप्रै अवार्ड तथा सम्मानहरू समेत पाइसकेका छन् ।

त्यस्तै बलिउड अभिनेता अमिताभकाे याे ७८ औं जन्मदिन हाे । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका बच्चनले ‘सात हिन्दुस्तान’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । बच्चनले अभिनय गरेका ‘चलचित्र ‘जन्जीर, दिवार, शाेले’ ले बक्स अफिसमा तहल्का पिटेका थिए । बच्चनले ७०–८० को दशकतिर सिंगो बलिउडलाई नै काँधमा बोकेका थिए ।

अभिनेता बच्चनले थुप्रै चलचित्रहरुबाट अवार्ड समेत प्राप्त गरेका छन् । आजका दिनसम्म आइपुग्दा पनि बच्चन बलिउडमा सक्रिय अभिनेताका रुपमा रहेका छन् । अहिले उनी ‘कौन बनेगा करोडपति’ जस्तो लोकप्रिय टेलिभिजन शोको सञ्चालकसमेत रहेका छन् ।

यस समयमा बच्चनका पाँच ठूला चलचित्रहरु रिलिज हुने तयारीमा छन् । बच्चनको उमेर जति बढ्दै गएको छ उनी काममा पनि उति नै सक्रिय देखिन्छन् ।

प्रतिक्रिया