अमिताभसँग चलचित्र खेल्दै दीपिका

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अमिताभ बच्चनसँग चलचित्र खेल्ने भएकी छन् ।

निर्देशक नाग आश्विनको निर्देशन रहने तेलेगु चलचित्रमा दीपिका र अभिनेता प्रभाष यसअघि नै अनुबन्धित भैसकेका थिए । शुक्रबार अमिताभ पनि उक्त चलचित्रमा देखिने घोषणा भएको छ ।

चलचित्र निर्माता कम्पनी व्याजयन्ती मुभिजको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘करोडौंको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी चलचित्रमा स्वागत गर्छौँ । हाम्रो यात्रा अझै बृहत् बन्दै छ ।’ चलचित्र निर्माण कम्पनी व्याजयन्तीको स्वर्ण वर्षगाँठ पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ ।

त्यसैगरी अमिताभले ट्विट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुसी समेत व्यक्त गरेका छन् । अमिताभ हाल सोनी च्यानलको ‘कौन बनेगा करोडपति’ कार्यक्रममा व्यस्त छन् । निर्देशक आश्विनका अनुसार चलचित्र सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया