‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा !’ (फोटो फिचर)

काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै विवेकशील नेपाली दलले प्रदर्शन गरेको छ । उनीहरुले डा. केसीको जीवन रक्षा गर्न सरकार समक्ष माग गरेका छन् ।

शुक्रबार बेलुकी माइतीघर मण्डलामा भेला भएका विवेकशील नेपाली दलका नेता कार्यकर्ताहरुले समग्र चिकित्सक शिक्षाको सुधारका लागि डा. केसीसँग आफ्नो ऐक्यबद्धता रहेको बताए ।

उनीहरुले आमरण अनसनको २६ औं दिनसम्म पनि सरकार डा. केसीको माग प्रति अनुदार भएको बताउँदै उनको जीवन रक्षाका लागि माग पनि गरेका छन् ।

‘मेडिकल कलेजलाई कारवाही गर्न सक्दैनौं, डा. केसीसँग भने दम्भ !, व्यापारी सरकार चाहिँदैन, सत्याग्रही मार्न पाईदैन, डा. केसीको जीवन रक्षा गर, सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा जस्ता डा. केसी समर्थित नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बेलुकी ५ बजेदेखि भएको प्रदर्शनमा विवेकशीलका युवा कार्यकर्ता तथा आम सर्वसाधारणको समय सहभागीता रहेको थियो । माइतीघर मण्डला दक्षिण तर्फ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरीएको थियो ।

शुक्रबारै सरकारी वार्ता टोली र डा. केसीको वार्ताटोली विच सार्थक वार्ता हुने अपेक्षा गरिएको थियो तर, अन्तिम अवस्थामा सरकारी पक्ष नै वार्ताबाट बाहिरिएको डा. केसी पक्षको भनाई छ । आज सोलिडारिटी फर डा. केसी पक्षले थप आन्दोलन गर्ने बताएका छन् । साथै आजै सरकारी पक्षसँग वार्ता पनि हुन सक्ने बताइएको छ ।
तस्विरहरुः मकालु खबर

प्रतिक्रिया