डा. केसीको स्वास्थ्य थप जटिल बन्दै, वार्ताका लागि प्रधानमन्त्री संवेदनशील नबनेको आरोप

काठमाडौं । विगत २६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बनेको छ । ६ बुँदे माग राखेर गत २९ भदौदेखि अनशन शुरु गरेका डा. केसीको श्वासप्रश्वासमा समस्या देखिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेको त्रिवि शिक्षण अस्पतालको टोलीले डा. केसीको स्वासप्रश्वासमा थप कठिनाइ भएको जानकारी दिएको हो ।

यस्तै टोलीले डा. केसीको शरीरमा अक्सिजनको मात्रा घटेको बताएको छ । मेडिकल टोलीले जाँच गर्दा न्युमोनिया हुन सक्ने लक्षण देखिएको अस्पतालले जानकारी दिएको छ ।

डा. केसीकी सहयोगी डा. तोषिमा कार्कीका अनुसार डा. केसीको छातीको सिटी स्क्यान गर्नुपर्ने आवश्यक भएको छ । उनका अनुसार डा. केसीको स्वास्थ्य दिनप्रतिदिनु नाजुक बन्दै गइरहेको छ ।

यता डा. केसीको अनशन २५ दिन पुगेपछि वार्ता गर्न सहमत भएको सरकारी पक्षले भने अटेर गरेको आरोप लागेको छ । हिजो अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षीय वार्ता निष्कर्षबिहीन टुङ्गिएको थियो ।
–डा. केसी र सरकारबीच आज पनि वार्ता, सहमति जुटे आजै अनशन तोडिने
–‘केसी रहरले बिहे नगरी जोगी बनेका हैनन्, उनमा बिपरीत लिङ्गी आकर्षण थिएन’
–डा. केसीको अनशनलाई कसरी हेर्ने ?, आठ प्रश्न
उक्त वार्तालाई आज निरन्तरता दिइने भनिएपनि अझैसम्म समय तय भइसकेको छैन । डा. केसीका सहयोगी प्रितम सुवेदीले मकालु खबरसँग भनेअनुसार सरकार वार्ताको लागि तत्पर देखिएको छैन ।

यस्तै डा. केसीका वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले हिजो एकखालको सहमति गरेर थप छलफलपछि आज गर्ने भनिए पनि अहिलेसम्म वार्ता शुरु हुन नसकेको बताउँछन् ।

हिजोको वार्ताबाट बनेको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगिसकेको र उक्त मस्यौदा पुनः आएपछि वार्ता गरिने बताइएको छ । यद्यपि पनि उक्त मस्यौदा अहिलेसम्म आइनसकेको डा. केसी पक्षका प्रतिनिधिहरुको भनाइ छ ।

प्रतिक्रिया