डा. केसी र सरकारबीच आज पनि वार्ता, सहमति जुटे आजै अनशन तोडिने

काठमाडौं । चिकित्सा शिक्षा सुधारसँगै थुप्रै मागहरु राखेर विगत २६ दिनदेखि आमरण अनशन शुरु गरेका डा. गोविन्द केसीको प्रतिनिधि र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ ।

वार्ताको समय ठ्याक्कै अहिल्यै तय भइनसके भए पनि वार्तालाई भने निरन्तरता दिइने डा. केसीका सहयोगी प्रितम सुवेदीले मकालु खबरलाई जानकारी गराए ।

“समय चाहिँ अहिल्यै तय भइसकेको छैन । यद्यपि पनि आज पनि वार्तालाई निरन्तरता भने दिइनेछ ।” मकालु खबरको जिज्ञासामा सुवेदीले भनेका छन्, ‘अहिले आन्तरिक छलफलमै छौं ।’

विभिन्न ६ बुँदे मागहरु राखेर गत २९ भदौदेखि जुम्लाबाट आमरण अनशन शुरु गरेका डा. केसीले पहिलेको सहमति/सम्झौताहरु कार्यान्वयनलगायतका धेरै मागहरु राखेका उनले आफ्नो मागको सम्बोधन हुनैपर्ने अडान राख्दै आएका छन् ।

शुक्रबार (हिजो) अबेरसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुङ्गिएपछि पुनः आज वार्तालाई निरन्तरता दिइने भएको हो ।

वार्तामा डा. केसीले उठाएका मागहरुका विषयमा बुँदागत छलफल भएको थियो । छलफलले डा. केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारिएको थियो ।

उक्त मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेको बताइएको छ । यस्तै आजको वार्ता सकारात्मक भए आजै अनशन तोडिनेसमेत सुवेदीले बताएका छन् ।

प्रतिक्रिया