मिठाराम केसीको ‘गल्ती नगर’ गीतको भिडिओ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । समाजसेवी, राजनीतिज्ञ तथा गायक मिठाराम केसी (खत्री) को ‘गल्ती नगर’ बोलको गीतको भिडिओ आज सार्वजनिक भएको छ । गीतको रचना र भाका केसीकै हो । र, गीतमा संगीत–संयोजन राजु कार्कीको छ । गीतमा केसी र कमला पोखरेलको स्वर रहेको छ ।

कोरोना संक्रमणबाट विश्व आक्रान्त भइरहेको अवस्थामा विदेश गएका युवाहरुलाई स्वदेश फर्कन र शहरमा बसेका युवतीहरुलाई पनि गाउँमै फर्केर काम गर्न प्रेरित गरिएको गीतका रचनाकार तथा गायक केसीले स्पष्ट पारे ।

गीतबारे प्रकाश पार्दै केसीले ‘युवा जति विदेशमा, यस्तो अवस्थामा कोरोनाको कारणले गाउँमा दुवैथरि विदेश र शहरमा भएका युवायुवतीहरु अहिले गाउँ आएका छन् । गीतको भिडिओमा केटाकेटी अब गाउँमै बस्ने बाचा देखाईएको छ । केटा मुग्लान नजाने । र, केटी शहर नजाने शर्तमा उनीहरुको प्रेम सम्बन्ध हुन्छ । यो गीतमा सरकारसमक्ष पनि युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर भनिएको छ ।’

भिडिओमा मुख्य अभिनय खासगरी साहुको भूमिकामा कृष्णभक्त महर्जन छन् भने रमेश थापा र आयुष्मा कार्कीको मुख्य अभिनय रहेको छ । र, केटाको आमाको भूमिकामा सञ्चारकर्मी गोमा पाण्डे देखिएकी छिन् । भिडिओ फुलचोकी मिडियामार्फत सार्वजनिक भएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले गीतको प्रशंसा गरे । उनले नेपाल कृषिप्रधान देश भएको तर यहाँका युवाहरु विदेश पलायन हुने होड चलेको उल्लेख गर्दै यो गीतले युवाहरुलाई स्वदेशमै केही गर्न उत्प्रेरणा भरेको सुनाए । उनले भने,‘यो गीत समय सान्दर्भिक छ । म सबै टिमलाई शुभकामना भन्न चाहन्छु ।’
फूलचोकी कलाकर्मी प्रा.ली र प्राकृतिक कृषि सहकारी संस्था लिमिटेडको संयुक्त प्रस्तुति छ । विमोचन कार्यक्रममा प्राकृतिक कृषि सहकारी संस्था लिमिटेड सञ्चालक कृष्ण प्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया