बाबुराम भट्टराईले ‘केपी ओली महेन्द्रपथका अवतार’ किन भने ?

काठमाडौं । प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् ।
हिजो मात्रै प्रदेश ५ को नामाकरण लुम्बिनी दुई तिहाईले पास भएपनि डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन् । उनले जाती र भाषाको आधारमा प्रदेश नामाकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।
‘हाम्रा प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।
उनले भारतमा जाति र भाषाको नाममा राज्यको नामाकरण गरेको खुलाउँदै प्रश्न गरेका छन् ‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’
विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको डा. भट्टराईको भनाई छ । भट्टराईले ‘महेन्द्रपथ’मा लागेको भनेर तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई महेन्द्रपथका अवतार भनेका छन् ।
उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्ले तथा लली रोकासँग माफीसमेत मागेका छन् ।








