प्रदेश ५ को नाम लुम्बिनी राखिएकाे प्रति जनजाति महासंघको आपत्ति

काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी राखेको प्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले लुम्बिनी प्रदेश घोषणा गरेकोमा महासंघले आपत्ति जनाएको हो ।
एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले विरोध जनाएको छ ।
प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
महासंघले प्रदेश ५ लगायत सबै प्रदेशको नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी गर्ने अभियान र आन्दोलन जारी रहेको बताएको छ ।
‘प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक थातथलोलाई आधार मान्दै ‘मगरात–थरुहट’ राख्नुपर्नेमा पुरानै राज्यसत्ता र संरचनाको झल्को दिने गरी लुम्बिनी’ राख्नु भनेको देश र जनताका लागि गम्भीर साथै ऐतिहासिक भूल गर्ने क्रम नरोक्नु हो’ महासंघका कार्यवाहक महासचिव सुखवीर थामीले विज्ञप्तिमार्फत भनेका छन् ।
राज्यको यस खालको कदमले उत्पीडित आदिवासी जनजाति समुदायको आत्मसम्मानमा गम्भीर र पिडादायी ठेस पुर्याएको उल्लेख छ । यस्ता खाले प्रतिगामी कदमले मुलुक फेरी द्वन्द्व तिर जाने महासंघकाे ठहर छ ।
यो निर्णय २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गरेको छ ।









