डा. केसीसँग वार्ता गर्न सचिव पठाएको छु, अनसन तोड्नुपर्यो, त्यसपछि माग पूरा गर्न सकिन्छ – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नको लागि नेपाल सरकारका सचिवलाई पठाएको बताएका छन् । मङ्गलवार नेकपा सचिवालय बैठकमा सदस्यहरूले डा. केसीसँग तत्काल वार्ता प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेपछि प्रधानमन्त्री ओलीले आज वार्ताका लागि सचिव पठाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले डा. केसीसँग वार्ता सुरु भएको बताउँदै केही मागहरू पूरा भइसेकेका पनि बताए । उनले डा. केसीलाई अहिले अनसन अन्त गर्न पनि आग्रह गरेको बताए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भने,‘सचिवलाई पठाएको छु, केही मागहरू पूरा भइसकेका छन्, अहिले अनसन अन्त्य गर्नुपर्यो भनेका छौँ, त्यसपछि पनि मागहरू पूरा गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीसँग नेकपाका सचिवालय सदस्यहरू झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले तत्काल वार्ताको पहल गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारले वार्ताको प्रयास जारी राखेको भन्दै कतिपय मागहरू पूरा भइसकेको बताएका थिए ।
बैठकपछि प्रवक्तासमेत रहेका नेता श्रेष्ठले डा. केसीका कतिपय विषयहरू कार्यान्वयनको प्रक्रियामा रहेकाले अहिले अनसन बस्नु उपयुक्त समय नभएको बताएका थिए । उनले सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरिएको बताए ।
आजै डा. केसीलाई भेट्न शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली शिक्षण अस्पताल पुगेको थियो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको थियो ।
जवाफमा डा. केसीले यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका थिए। आफ्ना मागहरूबारे छलफल गर्ने हो भने औपचारिक रूपमा वार्ता टोली पठाउनुपर्ने डा. केसीको अडान छ ।
डा. केसीले सत्याग्रह सुरु गरेको आज २३ औं दिन हो ।








