प्रदेश ५ को स्थायी राजधानी दाङ दुई तिहाई बढी मतले पारित

काठमाडौं । प्रदेश ५ ले राजधानी दाङको भालुवाङ तोकेको छ । प्रदेश सभाको आज (मंगलबार) को बैठकले सर्वसम्मतमा प्रदेश ५ को राजधानी तोकेको हो ।

उपस्थित ८२ सांसदमध्ये सो प्रस्तावको पक्षमा ६९ सांसदले मतदान गरेका थिए भने विपक्षमा १३ सांसदले मतदान गरेका थिए । दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी सर्वसम्मत पारित भएको सभामुखले घोषणा गरे ।

प्रदेशसभामा कानुनमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गत शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

सो प्रस्तावमा आज छलफल चलेको थियो । मुख्यमन्त्री शंकर पोखरेलले विशेष समयमा बोल्दै राजधानी सर्यो भनेर चिन्ता नमान्न सबैमा आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै राजधानी दाङको भालुवाङ नै उत्तम रहेको दाबी गरे ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशमा नेपालकै ठुलो चिडियाखाना, जिरसिंह रंगशाला बुटवलमा बनाउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिए । यस्तै नुवाकोटलाई केवलकारले जोड्ने तयारी गरिएको उनले योजना सुनाए ।

प्रस्तावको पक्षमा मतदान गर्न नेकपा सांसदले ह्वीप नै जारी गरेको थियो भने कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । कांग्रेसका दुई सांसद र जसपाका एक सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया