प्रधानमन्त्री ज्यू, गोविन्द केसीलाई हैन सत्यलाई बचाउनुस्

सत्याग्रही डा. गोविन्द केसी बालुवाटार नजिकै रहेको त्रिवि शिक्षण अस्पतालमा अक्सिजनका पाइपमा बसेको आज २३ औं दिन भइसक्यो । दुर्गमका गरिब किसानका छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउनु पर्छ, स्वास्थ्योपचारको सुविधा पाउनु पर्छ भनेर समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आमरण अनसनमा बसेका डा. केसीलाई एक नजर हेर्ने ताकत प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेनछ ।

‘सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने’ हाम्रा प्रधानमन्त्री शक्तिसँग झुके, सत्यसँग हारे ।

‘प्रधानमन्त्री ज्यू, दुई तिहाईको सरकारको नेतृत्व गर्ने तपाईं किन यति कठोर ?’ आज रुकुम रोल्पा, जाजरकोट जस्ता दुर्गममा सिटामोल नपाएर बसेका नागरिकले सोधिरहेछन् ।

डा. केसी तिनै व्यक्ति हुन् जतिबेला प्रधानमन्त्री ओलीले त्यहि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्दैगर्दा आफ्ना मागहरु विर्सिएर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । तर, आज त्यहि व्यक्ति २३ औं दिनसम्म अस्पतालको वेडमा ‘मुढो’ जसरी लडिरहँदा प्रधानमन्त्रीको नजर पर्न सकेन ।

आज प्रधानमन्त्रीका लागि डा. केसी फगत एउटा मुर्ख भएका हुन् ? जनताको नैसर्गिक अधिकारको वकालत गर्दै जसले जीवनको २६ वर्षभन्दा बढि राज्यलाई अर्पण गर्यो आज त्यो व्यक्ति राज्यको लागि घाँडो भएको हो त ? त्यसो हो भने सरकार ! डा. केसीलाई मात्र हैन, अब ति सबै नागरिकलाई मारिदिउँ जो तपाईले नै देखाएको समृद्ध मुलुक सुखी नेपालीको कल्पनामा रोग भोक र शोकसँग जुधिरहेका छन् । त्यसो भए तिनलाई टुँडीखेलमा लाइन लगाएर बन्दुक हानौं सरकार जसले देश र जनताका लागि जीवनको उर्जावान समय विताए । त्यसो भए ती बृद्धबृद्धालाई शुली चढाईदिउँ प्रधानमन्त्री ज्यू जो तपाईंकै उमेरका छन् जसलाई रोगसँग लड्न डा. केसी जस्ताको साथ चाहिएको छ ।

जव डा. केसी नै रहँदैनन् तब के को आन्दोलन, के को अनसन ? प्रधानमन्त्री ज्यू, जसको वरीपरी रुने कराउने कोही छैनन्, जसलाई ऐश आराम र बैभवको मतलव छैन त्यस्ता ‘जोगी’ लाई यो देशमा बाँच्ने अधिकार छैन । आजै भनिदिनुपर्यो तपाईंले कि ‘डा. केसी अब तिमी जस्ता निम्छराको काम छैन । आफ्ना पोकापन्तरा बोकेर काँशी तिर बाटो लाग’

पाँच वर्षयता सायदै कोही त्यस्तो मानव नहोला जसले व्यक्तिगत स्वार्थमा हैन कि जनताका पक्षमा एउटै माग राखेर १९ औं पटकसम्म आमरण अनसन बस्नु परेको छ । हुन त विश्वमा त्यस्ता त्यागीहरुको फेहरिस्त होला तर, नेपालको हकमा डा. केसी यस्ता मानव हुन् जसलाई हामी गर्वले ‘गान्धी’को पगरी दिन सक्छौं । समग्र चिकित्सा शिक्षाको सुधारको माग गरेर शान्तिपूर्ण रुपमा आन्दोलन गरेका डा. केसीलाई पाँच वर्षयता बनेका सबै सरकारले धोका सिवाय केही दिएनन् ।

जवजव डा. केसीले आमरण अनसनको घोषणा गर्दथे, तबतब मेडिकल माफियाहरुको सातो उड्थ्यो । मेडिकल शिक्षाका नाममा व्यापार गरेका ‘मेडिकल माफिया’ हरुको ओठतालु सुक्थ्यो, किनभने डा. केसी उनीहरुका लागि यस्ता हतियार हुन् जो नबोलिकन उनीहरुका विरुद्ध ‘एटमबम’ हान्न सक्थे । डा. केसीलाई साम दाम दण्ड भेद जुनसुकै हतकण्डा अपनाएपनि परास्त गर्न नसकेपछि आज ती माफियागिरीहरु बालुवाटार छिरेर प्रधानमन्त्रीलाई अंठ्याइरहेका छन् । र, प्रधानमन्त्री तिनै मेडिकल माफियाहरुको चंगुलमा बसेर डा. केसीलाई धारेहात लगाउन उद्यत छन् ।

आज १९ औं अनसनको २३ औं दिन वितिसक्दा पनि डा. केसीलाई प्रधानमन्त्रीले वा तिनका मन्त्रिमण्डलका कुनै सदस्यले सहानुभूतिका एक शब्द खर्च गर्न नसक्नु भनेकै ‘डा. केसी तिम्रो काम छैन’ भन्नु हो ।

कठोर शब्दमा भन्नुपर्दा दोस्रो नन्दप्रसाद अधिकारीको नियती दोहोर्याउनु कम्युनिस्ट सरकारको अभिष्ट हो । निरंकुश तानाशाही शासनमा समेत लोकलज्जाका लागि शासकले थोर बहुत दानदक्षिणा गर्दथे, जनताका घरदैलो चहार्थे । तर, अहिले विधि र शासनको बखान गरेर नथाक्ने प्रधानमन्त्री ओली आफ्नै लाज ढाक्न सकिरहेका छैनन् ।

कथंकदाचित डा. केसीले दोस्रो नन्दप्रसाद अधिकारी हुनुपर्यो भने त्यस अपराधको भार प्रधानमन्त्रीले लिनुपर्छ । किनभने, अहिले डा. केसीले उठाएका मागहरु पुरा गर्न सरकारले चासो नदिनुमा स्वयं प्रधानमन्त्रीको हात छ ।

प्रधानमन्त्री ज्यू, बेलैमा सचेत हुनुहोस्, आँखा खोल्नु होस्, अझैपनि तपाईंसँग सत्य के हो र झुटो के हो सोच्ने इन्द्रीयहरु सक्रिय छन् । तपाईं डा. केसीका अगाडी निदाएको नाटक गरीरहनु भएको छ । शिक्षण अस्पतालमा डा. केसी अर्धचेत अवस्थामा पल्टिएको तपाईंका इन्द्रीयहरुबाट लुकेको छैन । डा. केसीलाई बचाउनुस् । सत्यलाई मर्न नदिनुस् ।

तपाईं आफैंले भनेको हैन ‘सत्यसँग लड्दिन, झुटोसँग झुक्दिन’ डा. केसी स्वयं सत्य हुन् । डा. केसीको पराजय हुनु भनेको तपाईं झुटोसँग झुक्नु हो ।

द्वन्द्वकालमा गोर्खाका शिक्षक कृष्णप्रसाद अधिकारीलाई मारेपछि न्यायको माग गर्दै आमरण अनसनमा नन्दप्रसाद अधिकारीले देह त्याग गरे । त्यो आरोपबाट अहिले प्रचण्ड, बाबुराम लगायतलाई जसरी भत्भती पोलिरहेछ । त्यसरी नै भोलीका दिनमा प्रधानमन्त्रीलाई त्यस्तो नहोस् । सत्यको रक्षा गर्नुहोस् ।

प्रतिक्रिया