प्रदेश ५ को नाम र राजधानी सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न नेकपा सांसदलाई ह्वीप

बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ। संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले संसदीय दलको ह्वीप उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुने बताए।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरक मत राखेको पनि बताए। उनले बैठकमा आएका फरक मतलाई संसदीय दलमा सङ्ग्रहणीय र सुरक्षित गर्ने र सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिए। सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावप्रति असहमत रहेका प्रदेशसभा सदस्यका धारण आ–आफ्ना क्षेत्रका मतदाताप्रतिको जवाफदेहिताका कारणले आएकाले जायज रहेको पनि उनले बताए।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन्।

सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरेको छ।

सरकारले प्रदेशको राजधानी सार्ने प्रस्तावप्रति नेकपाको शनिबारको संसदीय दलको बैठकमा रुपन्देही, कपिलवस्तु र पाल्पाका १४ जना सदस्यले असहमति जाहेर गर्दै फरकमत दर्ता गरेका छन्। फरकमत दर्ता गर्नेमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, डा. कृष्ण न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, तुलसीप्रसाद चौधरी, थानकुमारी थापा, विमला पन्थी, पाल्पामा युवराज खनाल, नारायण आचार्य, रमा घर्तीमगर र डा. पुरन बज्राचार्य छन् । –रासस

प्रतिक्रिया