दिपशिखा सहकारीको कालो धन्दा, २९६ बोरा मल जफत 

ध्रुवराज खनाल 
चितवन।  चितवनको राप्ति नगरपालिकामा रहेको दीपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको छ । भारतीय अवैध मल र सरकारले उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरी बिक्री गरेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

भारतीय अवैध मल लुकाई छिपाई बढी मूल्य कायम गरी बेचेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडा सहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अवैध मल भेटिनुका साथै सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए । सो क्रममा  अपचलन गरेको २९६ बोरा मल जफत समेत गरिएको छ ।

जफत मल सम्बन्धित स्थानीय तहले उचित मूल्य कायम गरी  कृषक लाई बिक्री गरी प्राप्त रकम सरकारी राजस्व दाखिल गरी सो को रसिद जिल्ला प्रशासन कार्यालयमा पठाउन  लेखी सो सहकारी संस्थालाई कारबाही गर्न निर्देशन दिइएको शर्माले बताए । मल अपचलन गरेको पाइए पछि सो सहकारीलाई रु १०, ००० जरिवाना गर्ने बिहिवारै निर्णय समेत भएको छ ।

अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइए पछि यस अघि चितवन रत्ननगर १ मा रहेको निर्मल बहु उद्देश्यीय सहकारी समेत कारबाहीमा परेको थियो ।

प्रतिक्रिया