सहमहामन्त्री वा कर्णाली प्रदेश सभापतिमा उम्मेदवारी दिने नेता शाहीको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकै गर्दा आगामी नेत्तृत्वको चर्चा परिचर्चा सुरु हुन थालेको छ । सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुन नरसिंह केसी लगायतका नेताहरुले तयारी थालेका छन् ।

यसैगरी पदाधिकारीमा नेपाली कांग्रेसका केही युवा नेताहरुले पनि आन्तरिक तयारी तिब्र पारेका छन् । कांग्रेसको परिवर्तित विधान अनुसार आठ जना केन्द्रीय सहमहामन्त्री मध्ये पिछडीएको क्षेत्रको केन्द्रीय सहमहामन्त्रीमा नेपाल तरुण दलका महामन्त्री समेत रहेका युवा नेता भुपेन्द्रजङ शाहीले उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

आगामी महाधिवेशनमा नेता शाहीले केन्द्रीय सहमहामन्त्री वा संघिय संरचना अनुसार नेपाली कांग्रेसको परिवर्तित विधान अनुसार प्रदेश अधिवेशनले प्रदेश कार्य समिति सहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने व्यवस्था छ । यसै अन्तर्गत कांग्रेसको कर्णाली प्रदेशको सभापतिमा शाहीले उम्मेदवारी दिने भएका छन् ।

नेवि संघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भैसकेका शाहीले कर्णाली प्रदेशको सभापति वा कांग्रेस सहमहामन्त्रीको लागि आफ्नो राजनीतिक सक्रियता बढाइरहेका छन् ।

राजनीति सँगै साहित्य तथा सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुने क्रममा छन् । ‘नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट पार्टिमा आमुल रुपान्तरणको खाँचो रहेको छ । युवाहरुलाई राजनीतिमा आउनुपर्छ र मुलुकको विकास र निर्माणमा सक्रिय हुनुपर्छ भन्ने चेतना अभिवृद्धि गराउन पनि मैले उम्मेद्वारी दिने निर्णय गरेको हुँ ।’ शाहीले भने ।

उनले अब पार्टी पुरानो ढर्रा, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न नसक्ने बताउँदै पार्टी भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा, ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बादको राजनीति अन्त्य हुनुपर्ने समेत बताएका छन् ।

शाहीले अहिलेको युग सुचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेत लाई गम्भिर ढंङ्गले बुझ्नु पर्ने पनि बताएका छन् ।

‘कांग्रेसलाई मजबुत र शसक्त पार्टी बनाउन अब कांग्रेसमा सङ्गठन सुदृढिकरणको अभियान चलाउनु पर्छ । पार्टीमा ब्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन आवस्यक भैसकेको छ ।’ शाहीले भने ।

कांग्रेसलाई समयको गति सङै जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नुको विकल्प नरहेको उनको भनाई छ ।

नेकपाको अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेको बताउँदै उनले बर्तमान सरकार पुर्ण रुपमा असफल भएको पनि बताएका छन् । ‘जनताले नेकपाको बिकल्प खोजिसके, यस्तो बेला नेपाली कांग्रेस पुरानै पारा बाट चलेर हुँदैन । बिगतका कमी कमजोरीलाई सुधारेर नयाँ सोच, बिचार, उर्जा र भिजनका साथ अगाडी बढेर जनताको आशा, विस्वास र भरोसाको पार्टी बन्नुपर्छ ।’ उनले भने ।

शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारीमा बसेर काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टीको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताए । कांग्रेसको तर्फबाट आफु दुइ–दुइ पटक सांसदको उम्मेदवार भैसकेको नाताले पनि कांग्रेसको संगठनलाई गाउँस्तर सम्म पुगेर वडा वडा, टोल टोल सम्म संगठन निर्माण र विस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी रहेको जिकिर गरे ।

‘गाउँको विकास र समाजको परिबर्तन नै मेरो मुख्य राजनीतिक उद्देश्य हो । म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउन प्रण गर्दछु ।’ उनले भने ।

कांग्रेसको आगामी महाधिवेशनमा कर्णाली प्रदेशको नागरिक हुनुको नाताले शाही नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडीएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री उठ्ने सम्भाबना छ । ‘अहिले म काममा लागि परेको छु । कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरु सँग छलफल मै छु, यदि पार्टी महाधिवेशनले गति लियो भने औपचारिक रुपमै उम्मेदवारी घोषणा गर्नेछु ।’ नेता शाहीले भने ।

यदि महाधिवेशन नसरेर निश्चित समयमै भयो भने कांग्रेसको आगामी महाधिवेशनमा शाही पिछिडीएको क्षेत्र बाट केन्द्रीय सहमहामन्त्री वा कर्णाली प्रदेशको सभापति मध्ये एक पदमा उम्मेदवारी दिने निश्चित छ ।

प्रतिक्रिया