उपत्यका छिर्नासाथ पीसीआर गर्नुपर्दैन, अनि के गर्ने ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेकोसँगै कोरोनाको जोखिम पनि बढेको छ । सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि उपत्यका भित्रिनेको संख्या बढ्दो छ ।

हुन त उपत्यका भित्रिने मात्रै बढेको होइनन्, बाहिरिनेको संख्या पनि उस्तै छ । उपत्यकाबाट बाहिरिने तथा भित्रिने मानिसहरूको संख्या लगभग उस्तै रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । असोज १ गतेदेखि १० गतेसम्म १ लाख ९७ हजार २५ जना काठमाडौं उपत्यका भित्रिएका छन् भने १ लाख ८७ हजार १७५ जना यहाँबाट बाहिरिएका छन् ।

तर, पनि अहिले अन्य क्षेत्रमा भन्दा उपत्यकामा बढी जोखिम छ । यहाँ संक्रमणको दर तीव्र रूपमा वृद्धि भएको छ । सडक, कार्यालय, बजार, सार्वजनिक स्थलमा भीड बढ्दा र बाहिर जिल्लाबाट आउने बढिरहेकाले जोमिम पनि उकालो लागेको हो । विशेष स्वास्थ्य सतर्कता सबैले अपनाउनु आवश्यक छ तर, कतिपयले बाहिरि जिल्लाबाट काठमाडौं आउनेबित्तिकै पीसीआर परीक्षण गराउने गरेका छन् । स्वास्थ्य विज्ञहरुका अनुसार यस्तो गर्नु हुँदैन ।

यस्तो छ सुझाव
स्वास्थ्य मन्त्रालयले बाहिरबाट आएका मानिसलाई १४ दिन घरमै क्वारन्टीनमा बस्न र कुनै लक्षण देखिए मात्रै परीक्षण गराउन अनुरोध गर्दै आएको छ । ‘मान्छे आएको ५/७ दिनभन्दा अगाडि पीसीआर परीक्षण गराएको कुनै अर्थ नै छैन,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने- ‘संक्रमितसँग अन्तिम सम्पर्क भएको ५/७ दिनपछि परीक्षण गर्दा मात्रै संक्रमण देखिने गरेको छ ।’

यदि बाहिर जिल्लाबाट आएको वा संक्रमितकै सम्पर्कमा आएको पनि ५/६ दिनसम्म कुनै लक्षण वा संक्रमण नदेखिने भएकोले परीक्षणमा हतार नर्गन पनि उनले आग्रह गरे । ‘त्यसो हुँदा हातमा निगेटिभ रिपोर्ट भए पनि शरीरमा भाइरस सक्रिय भएर संक्रमण सार्ने खालको सम्भावना हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने- ‘पछिल्लो समय त्यहीँ देखिएको छ ।’

बाहिरका जिल्लाबाट आउनासाथ लक्षणविनै पीसीआर परीक्षण गराउनका लागि दबाउन नदिन स्थानीय जनप्रतिनिधिमार्फत्‌ पनि सम्झाउने काम गरिएको पनि उनले जानकारी दिए । तर, संक्रमितको सम्पर्कमा आएको थाहा पाउनेबित्तिकै अलग्गै बस्न र ५ दिनपछि अनिवार्य परीक्षण गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयलले भन्यो- ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि पीसीआर परीक्षण गर्नुपर्छ ।’ कसैलाई अकस्मात स्वासप्रश्वासमा समस्या भए पीसीआर गर्नु आवश्यक हुन्छ भने विदेशबाट फर्किएर र कम्तिमा पाँचदेखि सात दिन क्वारेन्टाइनमा बसेका व्यक्ति, अग्रपंक्तिमा रहेर काम गर्ने, आईसीयूमा राख्नुपर्ने व्यक्तिको अनिवार्य रुपमा पीसीआर गर्नुपर्छ ।

प्रतिक्रिया