के आजको मन्त्रिपरिषद् बैठक केही मन्त्रीहरुका लागि अन्तिम हो ?

काठमाडौं । अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार र बिहीबारको अतिरिक्त आइतबार (आज) बोलाइएको आकस्मिक बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको बुझिएको छ ।

यसअघि गत बिहीबार बसेको मन्त्रिमण्डल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको लागि यो बैठक अन्तिम हुनसक्ने भएकाले अन्यथा नलिन आग्रहसमेत गरेका एक मन्त्रीले बताएका थिए ।

यसअघि गत ४ असोजमा जनसंगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा डाकिएको यो बैठकलाई चासोको रुपमा हेरिएको छ ।

उक्त सचिवालय बैठककै आधारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी चलिरहेको छ । पुनर्गठनको चर्चासँगै ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । प्रभावकारी काम गर्न नसक्ने मन्त्रीलाई हटाउने चर्चा यसअघिदेखि नै चल्दै आएको भएपनि यसअघिको बैठकमा ओलीले ती विकल्पहरु पेश गरेका थिए ।

सबै मन्त्री हटाउने, शुरुमा मन्त्री भएकालाई हटाउने र आधा हटाउने भनी प्रधानमन्त्री ओलीले पेश गरेका विकल्पमध्ये अर्का अध्यक्ष प्रचण्डलगायतका अधिकांश सचिवालय सदस्यहरुले सबै मन्त्री हटाउन नमिल्नेमा अडान राखेका थिए ।

आकस्मिक बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो भने शनिबार (हिजो) बेलुका प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए ।

यता पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको विषयमा अदालतमा परेको मुद्दाको किनारा लागिसकेको छैन ।

यद्यपि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी तीव्र पारेका छन् । यसै विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।

तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया