मन्त्री हेरफेरको चर्चाबीच बोलाइयो मन्त्रिपरिषद् बैठक, बामदेवको मुद्दा अर्कैतिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले बैठक आइतबार (आज) बोलाएका हुन् । यसअघि प्रधानमन्त्री ओली र उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच शनिबार (हिजो)बेलुका भेटवार्ता भएको थियो ।

उनीहरुबीच भएको लामो भेटवार्तापछि आकस्मिक रुपमा आज बैठक बोलाइएको छ । यद्यपि आजको बैठकको एजेण्डाबारे भने केही खुलाइएको छैन ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा बिहीबार र शुक्रबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो छलफल भएको थियो । यसअघि बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुझावसमेत दिइसकेको अवस्था छ ।

त्यसैका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी चलिरहेको छ । पुनर्गठनको चर्चासँगै ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । प्रभावकारी काम गर्न नसक्ने मन्त्रीलाई हटाउने चर्चा यसअघिदेखि नै चल्दै आएको भएपनि यसअघिको बैठकमा ओलीले ती विकल्पहरु पेश गरेका थिए ।

सबै मन्त्री हटाउने, शुरुमा मन्त्री भएकालाई हटाउने र आधा हटाउने भनी प्रधानमन्त्री ओलीले पेश गरेका विकल्पमध्ये अर्का अध्यक्ष प्रचण्डलगायतका अधिकांश सचिवालय सदस्यहरुले सबै मन्त्री हटाउन नमिल्नेमा अडान राखेका थिए ।

आकस्मिक बैठकअघि अध्यक्षद्वयबीच भेटवार्ता ?
आज बोलाइएको मन्त्रिपरिषद् बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालुवाटार स्रोतका अनुसार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको श्रोत बताउँछ ।

भेटमा मन्त्रिमण्डल पुनर्गठनका साथै पार्टी एकताको बाँकी काम सकाउने विषयमा पनि छलफल भएको बुझिएको छ ।

वामदेवको मुद्दा अकैतिर, के जुट्ला सहमति ?
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको विषयमा अदालतमा परेको मुद्दाको किनारा लागिसकेको छैन ।

यद्यपि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी तयारी तीव्र पारेका छन् । यसै विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।

तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया