मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन

म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

गत ३१ भदौको राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाइनसकिएकाले सिधा सवारी सञ्चालन हुन नसकेको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।

निरन्तरको वर्षासँगै मध्यरातमा आएको बाढीले दोस्रोपटक रुप्सेमा कटान गरेपछि दुवैतर्फबाट आयोजनाले मेसिनको प्रयोग गरी पहिरो हटाएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए ।

रुप्सेमा आएको बाढीले करिब २ सय मिटर सडकमा क्षति पु¥याएपछि सवारीसाधन अलपत्र परेका थिए । रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतिको जोखिम रहेको छ । अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थानीयवासीले मर्मत गरेका थिए ।

गएको ५ साउनमा रुप्सेमा आएको बाढीले रेष्टुरेन्ट, बस, स्काभेटरका साथै निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ निर्यातमा समस्या भएको छ । किसानले टिपेर तयारी अवस्थामा राखेको स्याउ लिन गएका ठूला मालबाहक ट्रकसमेत बाटोमै अलपत्र परेका छन् ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको बेनी–जोमसोम सडक गएको असार महिनायता सहज सञ्चालनमा आउन नसक्दा उत्तरी म्याग्दी र मुस्ताङबासी समस्यामा परेका छन् । रासस

प्रतिक्रिया