काेठा खाेज्न आएकाले लुटे तिलहरी, डलर साट्ने भन्दै पाँच लाख ठगी

काठमाडौं । कागेश्वरी नगरपालिका-९ सनसिटिस्थित हिमालयन टोल घर भएका ४३ वर्षीया महिलाको साथबाट एकतोला सुनको तिलहरी बिहीबार दिउँसो लुटपाट भएको छ ।

ती महिलाको घरमा कोठा खोज्ने बहानामा आएका अपरिचित व्यक्तिहरुले महिलाको मुखमा सल बाँधी घाँटीमा लगाएको उक्त तिलहरी लुटि फरार भएका बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै भक्तपुरमा डलर साट्ने भन्दै नगद पाँच लाख रुपैयाँ ठगी भएकाे छ । डलर साट्ने भन्दै काठमाडौं धापासी बस्ने गोरखा मसेल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुदर्शन थापाको साथबाट नगद ५ लाख रुपैयाँ बिहीबार दिउँसो ठगी भएको हाे ।

सुजन नाम बताउने पुरूष समेत ३ जनाले डलर साट्ने भनी थापालाई सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेजमा बोलाई उनको साथमा रहेको नगद लिई कालो निलो बुट्टे रुमालभित्र खैरो प्लाष्टिकमा सेतो कागजको टुक्राको पोको दिई हाल नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै काठमाडाैंकाे टोखा नगरपालिका-१० सार्कीटोल डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका लोक बहादुर राउतको कोठाबाट नगद २ लाख ९ हजार रुपैयाँ र बिभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया