नेपालमा निको हुने दर बढ्यो, कोरोना जित्नेको संख्या ५० हजार नजिक

काठमाडौं । पछिल्लो समय मुलुकमा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढिरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक नेपालमा निको भएको दर ७३.७ प्रतिशत रहेको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८९३ जना व्यक्ति निको भएका छन् भने ११७२ जना संक्रमित थपिएका छन् । उक्त दिन ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको गरिएको हो ।

७ असोजको तथ्यांक अनुसार मुलुकमा कोरोनाबाट निको हुनेको कुल संख्या ४९९५४ पुगेको छ । यस अनुसार मुलुकमा कोरोनाबाट निको हुने दर ७३.७ प्रतिशत छ । बुधबारसम्म ६७८०४ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७४१४ छ ।

६ असोजमा ८२३ जना निको भएका थिए भने १३५६ जना संक्रमित थपिएका थिए । सोही दिन निको हुनेको कुल संख्या ४८०६१ र निको हुने दर ७२.१३ प्रतिशत थियो । यसैगरी ३ असोजसम्ममा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ४५२६७ निको हुने दर ७२.०८ प्रतिशत थियो ।स्वास्थ्य मन्त्रालयको ३१ भदौसम्मको तथ्यांक अनुसार कोरोनाबाट निको हुने व्यक्तिको संख्या कुल ४१७०६ थियो, भने निको हुने दर ७१.५ प्रतिशत थियो । यसरी एक हप्ताको अन्तरमा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ८२४८ ले बढेको देखिन्छ । कोरोनाबाट निको हुने दर भने एक हप्तामा ७१.५ प्रतिशतबाट बढेर ७३.७ प्रतिशतमा पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमणमुक्त ?
-प्रदेश १ : ४५१६ जना
-प्रदेश २ : १२७६० जना
-वाग्मती प्रदेश : १२८१२ जना
-गण्डकी प्रदेश : २९४१ जना
-प्रदेश ५ : ७७७५ जना
-कर्णाली प्रदेश : २७८२ जना
-सुदूरपश्चिम प्रदेश : ६३६८

  • तथ्याङ्क स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रतिक्रिया