चलचित्र ‘कृष्ण लिला’मा पुष्प र दीपिका अनुबन्धित

काठमाडौं । बिगत ६ महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्रमा अब भने चहलपहल सुरु हुन थालेको छ ।

सरकारले चलचित्र निर्माणको अनुमति नदिए पनि चलचित्रकर्मीहरु कोरोना भाइरस ‘कोभिड १९’पछि छायांकन सुरु गर्ने गरी नयाँ चलचित्रको घोषणा गरिरहेका छन् । ७ महिना कामविहीन भएर बसेका कलाकारहरुले पनि अहिले भने धमाधम चलचित्र साइन गरिरहेका छन् ।

यसैबीच नायक पुष्प खड्का र नायिका दीपिका प्रसाईं ‘कृष्ण लीला’ नामक चलचित्रमा अनुबन्ध भएका छन् । उनीहरुसँग गएको हप्ता निर्माण टिमले कागजी सम्झौता गरेको छ । चलचित्रलाई निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले केही हप्तादेखि चलचित्रको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् ।

कमेडी विधामा निर्माण हुन लागेको सो चलचित्रमा पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ । सो चलचित्रमा निर्देशक दीपक ओलीको निर्देशन, अर्जुन पोखरेलको संगीत रहने छ भने, चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् । सो चलचित्रमा शिव ढकालको छायांकन रहने छ ।

प्रतिक्रिया