प्रतिकेजी ५२ रुपैयाँमा नै प्याज, कहाँ पाइन्छ किन्न ?

काठमाडौँ । बजारमा मूल्य वृद्धि भएको प्याज अब खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी ५२ रुपैयाँमा बिक्री गर्ने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५२ रुपैयाँमा बिक्री वितरण गर्ने भएको हो ।

यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब १ हजार २ सय किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो ।

प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो ।

बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो ।

व्यापारीले रु ५२ प्रतिकिलोका दरले प्याज किनेको भेटेपछि सोही मूल्यमा कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया