चीनले भन्यो- ‘लाप्चा बगर हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला’

काठमाडौं । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको हो ।

चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । उनका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ ।

विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो । तर भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो ।‘हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो । लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ,’ अध्यक्ष तामाङले भने ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए । ‘हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन । तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ । कुरा भएको त्यति हो,’ तामाङले भने– ‘हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो । एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन ।’

एउटा ट्याङ्कर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए ।

सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोली उक्त स्थानमा गएको थियो

नाम्खा गाउँपालिकाको सीमा चीनसँग जोडिएपनि त्यहाँ सरकारको उपस्थिति शून्य रहेको र सुरक्षा चौकी बनाउन पटकपटक सरकारसँग आफूले माग गरेको तामाङले बताए । हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन् । झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट टिपर चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ ।

उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा जाङ, हल्जी र तिल गाउँहरू छन् । उक्त वडाको केन्द्र हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ । यसअघि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको टोलीले स्थलगत भ्रमणका क्रममा उक्त स्थानमा चिनियाँ पक्षले भवनहरू बनाएको फेला पारेको थिए । –स्रोत : बीबीसी 

प्रतिक्रिया