नेपाल स्टारको तेस्रो राउण्डमा ४८ प्रतिस्पर्धी छनाेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण सुरु भएको छ ।

दोस्रो राउण्डबाट छानिएका ४८ प्रतिस्पर्धीले तेस्रो राउण्डमा प्रवेश गरेका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्ने छन् । । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीलाई यहाँ पनि निर्णायकको अंककै आवश्यकता पर्नेछ ।

तुलनात्मक रुपमा कम अंक प्राप्त गर्ने प्रतिस्पर्धीले भने सो राउण्डबाट बिदा लिएर घर फर्किनेछन् । यसअघि डिजिटल राउण्डका रुपमा प्रसारित राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए ।

तिनै ११७ जना मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीकोबीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ । वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै कोभिड १९ को विषम परिस्थितिमा कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीलाई एकजुट गराएर कार्यक्रम छायांकन सम्भव नरहेकाले यो कार्यक्रमलाई पटक–पटक लामो समयसम्म  छायांकन रोक्दै अगाडि बढाउनु परेको थियो ।

अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमले सामाजिक दूरी राख्दै अब हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको छ ।

उत्कृष्ट छानिंदै अन्तिम ४ प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेमा पुरस्कृत गरिनेछ। यो कार्यक्रमका विजेता हुने प्रथमले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रमका निर्णायक रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् ।

प्रतिक्रिया