यलम्वर संगीत प्रतियोगिता : छैटौं संस्करण भर्च्यूअल रुपमा हुने

काठमाडौं । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणलाई अनलाईनमार्फत् विश्वव्यापी रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिले राष्ट्रव्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई यो वर्ष विश्वव्यापी भर्च्यूअल रुपमा सञ्चालन गर्ने गरिएको हो ।

सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई कोरोनाका कारण विश्वव्यापी अनलाईन संस्करण बनाउने तयारी गरिएको हो ।

अनलाईनमार्फत् विश्वभर रहेका किरात राई समुदायका गायन प्रतिभाले यो संस्करणमा सहभागिता जनाउन सक्ने प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ जानकारी बताए ।

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा उत्थानको लागि आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस श्रृंखलाका लागि आवश्यक नियमहरु सार्वजानिक गरिएको छ ।

साप्ताहिक रुपमा ३० जनावाट २० र २० वाट १० जनामा सिमित गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराइने आयोजकले सार्वजानिक गरेको नियममा जनाइएको छ ।

किराती विषयमा सम्बन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने प्रचारप्रसार विभागका संयोजक राईले जानकारी दिए ।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकको तर्फबाट प्रदान हुने अनलाईन प्रशिक्षणहरुमा प्रतियोगीहरु अनिवार्य सहभागी बन्नुपर्ने नियम राखिएकोमा प्रतियोगीको गायकी तथा स्वर सुहाउँदो गीत आयोजकले छनौट गरिदिन सक्ने समेत उल्लेख छ ।

प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमसः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले बताए ।

यलम्वर संगीतको पहिलो संस्करणको उपाधि सागर संसार राईले तिनेका थिए ।

प्रतिक्रिया