विश्वभर २ करोड २० लाख संक्रमित निको भए, कति पुगे मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड २० लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड २० लाख २२ हजार ५८ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ५० हजार १३९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३ लाख ३३ हजार ९१८ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २ हजार १९५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६८ लाख ७४ हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ८३८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८६१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ हजार ४०४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७९३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५२ लाख १२ हजार ६८६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ५७ हजार ४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८५७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ३१ पुुगेको छ ।

नेपालमा विहिबार देशभर गरी १ हजार २४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५९,५७३ पुगेको छ। अहिले देशभरि १६,२४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,९०३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विहिबारसम्म निको हुनेको कुल सङ्ख्या ४२,९४९ पुगेको छ भने ३८३ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया