अभिनेता भुवन केसीले मनाए आफ्नो ६२ औं जन्मदिन

काठमाडौं । सदावहार नायककाे रुपमा चिनिएका भुवन केसीले बिहीवार आफ्नो ६२औं जन्मदिन आफ्नो परिवारसँगै बसेर मनाउँदैछन् ।

२०१५ साल असोज १ गते काठमाडौंमा जन्मिएका केसीलाई सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिनेहरूको ओइरो लागिरहेको छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका केसीले गायकको रुपमा आफ्नो करिअर सुरु गरेका थिए ।

रेडियो नेपालमा ‘मायालु तिमी कता छौ ?’ गीत रेकर्ड गराएका केसी नेपाली म्यूजिक भिडियो दुनियाँका पहिलो मोडल समेत हुन् । केसीले आवाज भरेको गीतमा उनी स्वयंले नै अभिनय गरेका थिए । सन् १९८१ मा फिल्म ‘जुनी’ बाट नायकको रुपमा फिल्म क्षेत्रमा डेब्यू गरेका उनलाई फिल्म ‘सम्झना’ बाट सफलता मिलेको थियो । यसपछि भने उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

केसीको करिअरकै सम्झनलायक फिल्मको रुपमा तुलसी घिमिरे निर्देशित सन् १९९३ मा आएको फिल्म ‘कुसुमे रुमाल’ लाई लिइन्छ । तीन दशक लामो अभिनय करिअरमा सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् केसीले । ‘सन्तान, कन्यादान, चिनो, दुई थोपा आँशु, करोडपति, नेपाली बाबु, सुपरस्टार’ लगायतका फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो पटक फिल्म ‘मिस्टर नेपाली’ मा देखिएका थिए ।छोरा अनमोलले आफ्नो बिडो थामेपछि उनले अभिनयलाई खासै प्राथमिकता दिएको देखिदैन् ।

अहिले केसी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहका कारण विवादमा फसेका छन् । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा राम्रो व्यवहार नगरेको र जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले यो मुद्धा अदालतसम्म पुगेको छ । केसीले आफूमाथि झुटा आरोप लगाएको भन्दै साम्राज्ञीविरुद्ध मुद्धा दर्ता गर्दै १० करोड क्षतिपूर्ति समेत माग गरेका छन् ।

प्रतिक्रिया