मदनकृष्णकाे तमन्ना- कुलमान जस्ता व्यक्तिकाे सरकारले सदुपयाेग गराेस्

काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचार नगरी काम गर्ने कर्मचारीहरुलाई सरकारले हताेत्साहित नबनाइ प्राेत्साहन दिनुपर्ने बताएका छन् ।

आफूले सञ्चयकाेषमा जागिर खाइरहँदाकाे क्षण सम्झिँदै मदनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे धारणा राखेका हुन् । उनले आफू सञ्जयकाेषमा छँदा त्यतिबेलाका कार्यालय प्रमुख व्यक्तिले निःश्वार्थ भावले आफ्नाे जिम्मेवारी निभाएर संस्थाकाे राम्रो छवि बनाएकाे पनि उनले स्मरण गरे ।

उनले फेसबुकमा लेखेका छन्- ‘अहिले सम्झिँदा साँच्चिकै एकादेशको कथाझैँ लाग्छ । मैले कर्मचारी सञ्चय कोषमा जागिर खाइरहँदाका ति दिनहरु एउटा कार्यालयको प्रमुख व्यक्तिले आफूलाई दिइएको जिम्मालाई इमान्दारीताका साथ निभाई दिएमा आफ्नो क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा वास्तबिक उदाहरणको कथा थियो त्यो । मैले २०२३ सालदेखि करिब १२ वर्ष जागीर खाएको कार्यालय कर्मचारि संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले शतप्रतिशत आफु ईमान्दार भएर नेतृत्व दिएका थिए ।’

त्यतिबेला इमान्दार कार्यालय प्रमुख नरसिंहले सबै कर्मचारिहरुलाई आफ्नो सेवा ग्राहीहरुबाट घुस त परकाे कुरा एक कप चिया, एक खिल्ली चुरोट खान त के छुनसम्म पनि हिम्मत गर्न नसक्ने बनाइ दिएकाे उनले बताए । सेवा ग्राहिको तर्फबाट एक खिल्ली चुरोट लिएमा कुरा तुरुन्त माथि पुग्ने र ती व्यक्तिलाई अपराधी मानेर तुरुन्तै जागिरबाट सदाका लागि घोक्रेठ्याक लगाइने उनले अनुभव साझा गरे । यी कुरा उनले आफ्नो आत्मकथा ‘महको म’ मा समेत लेखेका छन् ।

यस्तै मदनकृष्णले नरसिंहकाे नेतृत्वमा काम गरेका कर्मचारीहरुले आजसम्म पनि उनीप्रति गर्व गर्ने गरेकाे बताए । उनले लेखेका छन्-  ‘कुरा अझै अलि बाँकी छ । पछि उहाँको कार्यकाल सकिएपछि ठूलो बित्तिय संस्था हाँकीरहेका ब्यक्तिलाई अपमान गरे सरह एउटा सानो इन्धन संस्थामा सरुवा गरियो । त्यहाँ पनि भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा लाग्नुभयो ।’

यद्यपी उक्त संस्थामा भने भ्रष्टाचारिहरु सबै मिलेर उनलाई त्यहाँबाट हटाई दिएकाे मदनकृष्णकाे भनाइ छ । परिक्षीत नरसिंह जस्ता इमान्दार र नैतिकवान कर्मचारीहरु नेपालमा अरु पनि प्रशस्त रहेकाे उनले बताए । 

वरिष्ठ हाँस्य कलाकार मदनकृष्णले विगत सम्झिँदै गर्दा अन्तिममा उक्त प्रसंगलाई नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जाेडेका छन् । ‘सबैको भनौँ या मेरो मन जितेको व्यक्तिहरूमा उनै परिक्षीत नरसिंह राणापछि उत्तिकै मन जितेका व्यक्ति हुन् कुलमान घिसिङ । उहांँहरु दुवै मेरा न साथीभाई हुन् न कुनै नातेदार नै । तर दुवैप्रति मेरो आत्मसम्मान छ । उहाँ जस्ता व्यक्तिलाई सरकारले सदुपयोग गरेर इमान्दारीताको पनि अनुकरण हुँदै जावस् भन्ने मेरो मनको तमन्ना मात्र हो ।’



प्रतिक्रिया