इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई “नयाँ मध्यपूर्वको मिरमिरे बिहानी” भन्दै प्रशंसा गरेका छन् । इजरेलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन् ।

हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो । सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।

समाधान
अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ । तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन् । प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरेललाई बहिष्कार गर्दै आएका छन् ।

ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले भने, “दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात्‌ आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ ।” इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, “यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ ।”

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन् । समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, “इजरेली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन ।”

इजरेली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरेलमा दुईवटा रकेट प्रहार गरिएका थिए । यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरेललाई औपचारिक रूपमा मान्यता दिएका थिए ।

इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरेलसँग शान्ति सम्झौता गरेका थिए । उत्तर-पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मरिटेनियाले सन् १९९९ मा इजरेलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। तर सन् २०१० मा उसले सम्बन्ध तोड्यो । –बीबीसी

प्रतिक्रिया