साढे ३ करोड जनताले रुचाएको नाम हो कूलमान घिसिङ

काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई पुन नियुक्ती गर्नु पर्ने माग गरेका छन् ।

मदनकृष्णले सोमबार सामाजिक सञ्जाल फेशबुकमा ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

हिजो सोमबार अर्थात् भदौ २९ बाट कुलमान घिसिङको नेपाल विधुत प्राधिकरणको कार्यकाल सकिएको छ । घिसिङको कार्यकाल सकिए लगतै सर्वसाधारणदेखि कलाकारहरुले हरेक दिन साँझ ८ बजे ५ मिनेटसम्म बत्ती निभाएर सरकारलाई दवाब दिने अभियान चलाउन थालेका छन् ।

श्रेष्ठले लेखेका छन्–‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिङगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेचीदेखि महाकाली हिमालदेखि तराईसम्मका ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ । ’

श्रेष्ठले अगाडि लेखेका छन् –‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन । आदर्णीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिवेक र कर्म हो । ’

श्रेष्ठले कुलमान जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गरेर देशलाई लोडसेडिङ मुक्त गराउने मन्त्री र कुलमानलाई साथ दिने सम्पुर्ण कर्मचारीलाई धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया