कोरोनाविरुद्धको खोप विकासमा विश्व कति नजिक ?

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले झन्डै १८० वटा खोपको परीक्षण भइरहेको छ । तर कुनैको पनि अन्तिम परीक्षण सम्पन्न भएको छैन ।

अक्सफर्डको संलग्नता भएको यो खोप दुई चरणका परीक्षणहरूमा सफल देखिएको थियो । यो चाँडै बजारमा आउन सक्ने धेरैले ठूलो आशा गरेका छन् । यसको तेस्रो चरणको परीक्षणमा यूके, अमेरिका, ब्रजिल र दक्षिण अफ्रिकामा ३०,००० स्वयंसेवीहरू सहभागी छन् ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वभरि हजारौँ मानिसहरू सहभागी हुन्छन् र त्यस्ता परीक्षणहरू वर्षौँसम्म चलिरहन्छन् । सङ्गठनले सुरक्षित तरिकाले परीक्षण गर्न समय लाग्ने भएकोले यो वर्ष नै कुनै पनि खोपले अनुमति पाउने अपेक्षा आफूले नराखेको बताएको छ ।

प्रभावकारिता र सुरक्षा निर्देशिका पूरा गरेर अनुमति पाउन कुनै पनि खोपलाई समय लाग्ने उसले बताएको हो । परीक्षणको पहिलो र दोस्रो चरण सफलतापूर्वक पार गरिसकेकोले एस्ट्राजेनेका-अक्सफर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई अग्रपङ्क्तिमा रहेको प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनाको ३ तारिखमा हुने राष्ट्रपतीय चुनावअघि नै अमेरिकामा उपलब्ध होस् भन्रे आफूले चाहेको बताएका छन्  । तर उनका टिप्पणीहरूले खोप निर्माणमा हतारिँदा सुरक्षाभन्दा राजनीति प्राथमिकतामा पर्ने चिन्ता केहीमा बढेको छ ।

रुसमा छिट्टै बनेको खोपप्रति पनि केही वैज्ञानिकहरूले अविश्वास व्यक्त गरेका छन् र रुसी अध्ययनको केही परिणामहरूलाई चुनौती दिएका छन् ।

अक्सफर्ड यूनिभर्सिटीको कोभिड-१९ खोप परीक्षण फेरि सुरु
एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोभिड-१९ विरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको परीक्षण फेरि सुरु भएको हो । यूकेमा एक स्वयंसेवी बिरामी परेपछि खोपका कारण प्रतिकूल प्रभाव परेको आशङ्कामा केही समय परीक्षणको प्रक्रिया रोकिएको थियो ।

एस्ट्राजेनेकाले ती व्यक्तिको अस्वस्थता र खोपको सम्बन्धबारे अध्ययन गर्न परीक्षण रोकिएको मङ्गलवार बताएको थियो । तर शनिवार अक्सफर्ड यूनिभर्सिटीले खोप सुरक्षित भएको निष्कर्ष निकाल्दै परीक्षणलाई निरन्तरता दिइने घोषणा गरेको छ । यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले फेरि खोप परीक्षण हुने समाचारको स्वागत गरेका छन् ।

‘यो विरामले हामी सुरक्षालाई पहिलो स्थानमा राख्छौँ भन्ने देखाएको छ। हामी आफ्ना वैज्ञानिकहरूलाई यथाशीघ्र सुरक्षित रूपमा एउटा प्रभावकारी खोप तयार पार्न सघाउँछौँ’ उनले भने । उक्त विश्वविद्यालयले एउटा विज्ञप्तिमा ठूला परीक्षणहरूमा अहिलेको जस्तै केही सहभागीहरूलाई बिसन्चो हुनसक्नेउल्लेख गरेको छ ।

उसका अनुसार एउटा स्वतन्त्र समिति र यूकेको नियामक निकायले उक्त खोपको सुरक्षाबारे समीक्षा गरेपछि परीक्षण फेरि सञ्चालन हुने भएको छ ।गोपनीयता कायम राख्नुपर्ने भएकाले अक्सफर्ड यूनिभर्सिटीले बिरामी परेका व्यक्तिबारे केही बताएको छैन । तर न्यूयोर्क टाइम्सले ती व्यक्तिमा ट्रान्स्भर्स माईलाईटस नामक मेरुदण्डको जलन हुने समस्या देखिएको थियो । भाइरल सङ्क्रमण हुँदा उक्त समस्या उत्पन्न हुन्छ । -बीबीसी

प्रतिक्रिया