नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

काठमाडौं । नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही २७ भदौमा इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो ।

६१ देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन् । उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन् ।

अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा मुल्याङ्कन भएको थियो ।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन् । उनी यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आइईपीपिस एम्बासेडरका रूपमा समेत चुनिएका छन् । रासस

प्रतिक्रिया