श्रीमती लिन ससुराली पुगेका ज्वाइँको ससुराले गरे यसरी हत्या

बाँके । आफ्नै ज्वाइँको हत्या गरेकाे अभियाेगमा ससुरासहित ५ जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जना पक्राउ परेका हुन् । उनीहरूलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया