काँचो सखुवाको रुख कटानमा संलग्न चार जना पक्राउ, धरानका मेयरलाई भने उन्मुक्ति !

धरान । सामुदायिक वन समुहको काँचो सखुवाको रुख अवैध रुपमा काटिएको प्रकरणमा आरोपी धरानका मेयरलाई उन्मुक्ति दिने कार्य भइरहेको छ ।

गत भदौ १३ गते धरान उपमहानगरपालिकाका मेयर तिलक राई र भालढुङ्गा सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतकै निर्देशनमा सखुवाको रुख काटिएकोमा रुख काट्ने चार जनालाई सव–डिभिजन वन कार्यालय विष्णुपादुकाले पक्राउ गरेको छ । भने, रुख काट्नेहरुको बयान तथा सार्वजनिक भएको अडियोमा मेयर तिलक राईकै संलग्नता देखिने आधार भएपनि सव–डिभिजन वन कार्यालयले मेयर र वन समुहका कोषाध्यक्षलाई उन्मुक्ति दिएको छ ।

सव–डिभिजन वन कार्यालयले ज्यालादारीमा रुख काट्न संलग्न रहेका धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई पक्राउ गरेको छ । तर, मुख्य निर्देशन दिएको आरोप लागेका मेयर तिलक राईलाई भने केही गरेको छैन ।

याे पनिः रुख काट्न धरानका मेयर तिलक राईले स्करपियोमा हालेर मान्छे लगेका थिए !

सव–डिभिजन वन कार्यालयका प्रमुख तथा अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले रुख काट्न संलग्न चार जनालाई पक्राउ गरीएको जानकारी दिँदै उनीहरूलाई वन ऐनअनुसार कारबाही अगाडि बढिरहेको बताए । उनले चार जनाको वयान लिइसकिएको र केहि दिनमा अनुसन्धान टुंगिने बताए ।

उनले मेयर र कोषाध्यक्षको संलग्नताका विषयमा अहिले केहि भनिहाल्न नमिल्ने बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरुको आज बयान सकिएको छ । उहाँहरु (मेयर कोषाध्यक्ष) को संलग्नता रहेको नरहेको विषयमा अनुसन्धान जारी छ ।’ उनले पदीय शक्तिमा रहेकाहरुले नै अपराध गरेको प्रमाणित भए कानुन अनुसार दण्ड सजायको भागिदार हुने बताए ।

मेयर राईलाई शक्ति र पहुँचको आधारमा उन्मुक्ति दिन खोजिएको होकि भन्ने प्रश्नमा अनुसन्धान अधिकृतले भने– मेयर हो भन्दैमा अपराध गर्ने छुट छैन, मेयर मेरो को होर मैले छुट दिनु ? अनुसन्धान निष्पक्ष हुन्छ तपाईहरु ढुक्क हुनुस् । १०, १५ दिनमा सबै जानकारी दिनेछु ।’ अनुसन्धान अधिकृत यादवले भने ।

याे पनि पढाैं धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे

भालढुङ्गा सामुदायिक वन समूहका अध्यक्ष बुद्धिमान तामाङले गत भदौ १८ गते मेयर तिलक राई तथा वन समुहकै कोषाध्यक्ष भीम बस्नेतको निर्देशनमा रुख काटिएको भन्दै ६ जन विरुद्ध किटानी जाहेरी दिएका थिए ।

उजुरीमा विद्युतीय आरा प्रयोग गरी सालको रुख काटेर १२ थान टुना निकासी गर्ने अवस्थामा बरामद गरिएको र उनीहरूले आफूहरूले ज्याला मजदुरी मात्र गरेको भन्ने अभिव्यक्ति दिएको उल्लेख गरिएको थियो ।

रुख काट्ने चारै जनाले आफुहरुलाई मेयर तिलक राईको स्कार्पियो गाडीमा आरासमेत राखेर भालढुङ्गा लगेको बताएका थिए । अध्यक्ष तामाङले वन ऐन २०७६ र प्रचलित कानून प्रतिकूल कसुर अपराध भएको हुँदा अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही तथा सजाय गर्न माग गरेका थिए । तर, सव–डिभिजन वन कार्यालयका प्रमुख तथा अनुसन्धान अधिकृत राजेन्द्र प्रसाद यादवले मेयर र कोषाध्यक्षलाई उन्मुक्ति दिने गरी चार जनालाई मात्र पक्राउ गरेपछि आशंका उब्जिएको छ ।

वन समुहका अध्इक्ष तामाङले भदौ २१ गते सव–डिभिजन वन कार्यालयलाई पठाएको लिखित प्रत्युत्तरमा पनि नगर प्रमुख राईको निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको रोहवरमा सखुवाको रुख काटिएको सत्य भएको उल्लेख गरेका थिए ।

तर, समूहका ८ जना पदाधिकारीहरूले भने कसले, कसको निर्देशनमा काटिएको हो भन्ने नखुलेको प्रत्युत्तर दिएपछि मुद्दा कमजोर बनाउने काम भएको थियो । मेयरकै निर्दैशनमा रुख काटिएको हल्लाखल्ला भएपछि भोलीपल्ट वन समुहका अध्यक्ष र अन्य उपभोक्तासँग मेयर आफैंले भेट गरेर गल्ती गरेको स्विकार गरेपनि समुहका अन्य पदाधिकारीले कुरा फेर्दा रुख कटानमा चार जना ज्यालादारीलाई मात्र पक्राउ गरीएको हो ।

धरान नगर प्रमुख राईले भदौ ११ गते आमा मनु राईको नाममा समुहमा निवेदन दिँदै घर बनाउन काठ माग गरेका थिए ।

सामुदायिक वनको काठ–दाउरा सङ्कलन तथा बिक्रीवितरण निर्देशिका २०७१ को परिच्छेद २ को वन पैदावारको माग सङ्कलन र लगत तयारीको दफा ४ को (१) मा स्पष्टसँग उपभोक्ता समूहले काठ–दाउराका लागि वनमा कटान, मुछानको कार्य प्रत्येक वर्षको कात्तिक १ गतेदेखि जेठ १५ गतेसम्म गरिसक्नुपर्ने र उपभोक्ताले १५ क्युविक फिटभन्दा बढी काठ नपाउने प्रावधान छ । त्योभन्दा माथि काठ लिनुपरेमा समूहले ठेक्का आह्वान गरेपछि बढाबढ गरेर लिलामीको आधारमा मात्रै लिन पाउने प्रावधान छ । मेयर राईले उक्त नियमलाई समेत धज्जी उडाएको वन समुहका अध्यक्ष तामाङले भने ।

एउटा सामान्य व्यक्तिले रूख काटेकाे भए माफि पाउँथ्याे ?

धरान नगर प्रमुख राईले आफ्नो चरित्र हत्या गर्ने हिसाबले घटनालाई उछालिएको भदौ १६ गते विज्ञप्ति प्रकाशित गरेका थिए । तर, त्यहि दिन नगर प्रमुख बोलेको अडियो सार्वजनिक भएको थियो । अडियोमा नगर प्रमुख राईले वनमा धेरैतिर काठ खोजेको भए पनि पोचापोचीमात्रै भेटिएको उल्लेख गरेका छन् । भने, लकडाउन अगाडी नै घर बनाइ सक्ने बताएका छन् ।

यहि विषयलाई लिएर नेकपा निकटको राष्ट्रिय युवा सङ्घले सत्य–तथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्न भन्दै अनुसन्धान अधिकृत यादवलाई ज्ञापन–पत्र बुझाएका थिए । तर, अधिकृत यादवले मेयरसँग प्रभावित भएर घटनामा चार जना ज्यालादारीलाई मात्रै मुछेको स्थानीयको भनाई छ ।

नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदीले वन समुहको रुक कसले के कारणले काटेको हो निष्पक्ष रुपमा छानविन हुनुपर्ने बताए । उनले पद र शक्तिको आडमा कसैलाई गैरकानुनी काम गर्ने छुट नभएको पनि जिकिर गरे । ‘पद र शक्तिमा रहेकालाई गैरकानुनी काम गर्ने छुट छैन, सामुदायिक वन समुहको रुख काटेको विषयमा उहाँ (मेयर)को नाम जोडिएको छ । निष्पक्ष छानविन गरी दोषिलाई कडा कारवाही हुनुपर्छ ।’ सुवेदीले मकालु खबरसँग भने ।

प्रतिक्रिया