टाँडे घरमा बस्न मन भएका मेयर ज्यू ! एउटा सामान्य व्यक्तिले रूख काटेकाे भए माफि पाउँथ्याे ?

धरान । मंगलबार अपरान्ह धरान उपमहानगरपालिकाका मेयर तिलक राईसँग मकालुकर्मीले सामुदायिक वनको रुख काटेको विषयमा धारणा बुझ्न फोन गर्दा उनले भने–‘मलाई फसाउन मेरा विरोधीहरुले आधारहिन तथ्यहिन आरोप लगाएका हुन् मलाई रुख काटेकोबारे केही थाहा छैन ।’

‘तर, मेयर ज्यू, तपाईले त सामुदायिक वन समितिका कोषाध्यक्षसँगै गएर रुख हेरेको, धरानबाट रुख काट्ने मान्छेहरु लगेको भन्नु भएको छ त ?’ मकालुकर्मीले प्रश्न गर्दा मेयर राईले भने–‘कसले भन्यो यस्ता कुरा ? मलाई थाहा छैन, त्यो मैले बोलेकै हैन ।’ यति भनि नसक्दै मेयर राईले आफु डेडवडी व्यवस्थापनमा रहेको बताउँदै फोन काटिदिए ।

दिउसो २ बजेतिरै मकालुकर्मीलाई ६ मिनेट २ सेकेण्डको एउटा अडियो प्राप्त भएको थियो । उक्त अडियोको संवाद सुन्दा मेयर तिलक राई तथा भालढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र स्थानीयहरुसँग गएको शनिबार रुख काटि सकेपछि भएको छलफलको अंश थियो । धरान उपमहानगरपालिका वडा नं. २० का स्थानीयबाटै प्राप्त उक्त अडियो हामीले तत्कालै ब्रेक गर्ने भन्दापनि अनाधिकृत रुपमा सखुवाको रुख काटेको आरोप लागेका मेयर राईसँग पनि धारणा लिने भनेर फोन गर्दा मेयरले आफुले बोल्दै नबोलेको जिकिर गरे ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राइले जारी गरेकाे प्रेस विज्ञप्ति ।

यसअघि मंगलबार विहानै धरान उपमहानगरपालिकामा सञ्चारकर्मीहरुलाई मेयर राईले धरान उपमहानगरपालिकाकै लेटर प्याडमा प्रेस विज्ञप्ति तयारी गरी आफुले रुख काट्दै नकाटेको जिकिर गरेका थिए । विज्ञप्तिमा विष्णुपादुका आफ्नो घर भएकोले बेलाबेलामा गइरहने तर्क गर्दै कसैलाई आफु आए गएको मन नपरेर सड्यन्त्र गरेको तर्क गरेका थिए ।

तर, दिउसो ३ बजेपछि मिडियाहरुले मेयर राईले रुख काटिसकेपछि विवाद उत्पन्न हुँदा स्थानीय, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुसँग आफु र सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतले रुख हेरेको, लकडाउनकै अवधिमा घर बनाइसक्ने समेत बताएको अडियो सार्वजनिक भएपछि मेयर राईकै संलग्नतामा रुख काटिएको हो भन्ने कुरामा द्विविधा देखिएन ।

हुन त अडियोले मात्रै मेयरले नै रुख काट्न लगाएको नखुल्ला । अनुसन्धानका धेरै पाटाहरु छन् तर, अडियोमा उनले जसरी सिलसिलेवार रुपमा रुख काट्नुपर्ने अवस्था कसरी आयो, कसरी धरानबाट रुख काट्ने मान्छेहरु लगियो । कति रुपैंयामा काट्न लगाउने कुरा भयो सम्मका कुरा गरेकाले सखुवाको रुख कटानीमा उनको संलग्नता छ भन्ने आधार चैं तयार भएको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वुद्धिमान तामाङले २ दिनअघि मकालु खबरसँग मेयर तिलक राईले समितिका पदाधिकारी तथा स्थानीयहरुकै अगाडी ‘अब काट्नु हुँदैनथ्यो गल्ती भयो, दिनुहुन्छ भने बोलाउनु होला नत्र ठिकै छ’ भनेर गएको जिकिर गरेका थिए । कतिपयले मेयरले बोलेको रेकर्ड गरेको तथा भिडियो समेत बनाएको दावि गरेका थिए अध्यक्षले । भिडियो त अहिलेसम्म सार्वजनिक भएको छैन, तर अडियोमा मेयर राईले भनेका शब्दहरुले नै उनी सखुवाको रुख काट्न प्रत्यक्ष संलग्न छन्, उनकै निर्देशनमा रुख काटिएको हो भन्ने घाम जत्तिकै छर्लङ्ग छ ।

वनका अध्यक्ष तामाङले इलाका सव वन डिभिजन कार्यालयमा मेयर राईकै संलग्नतामा रुख काटिएको किटानी गर्दै कारवाहीको माग गरेर निवेदन दिएका छन् । त्योसँगै स्थानीय युवा हर्क साम्पाङले पनि तिलक राईकै संलग्नतामा रुख काटिएको भन्दै अनुसन्धान गरी कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

अडियोमा मेयर राईले आफुले भालढुंगामा ८, १० बर्षअघिदेखि घर बनाउने योजना बनाएको तर्क गरेका छन् । उनले बाजेलाई भनेर हप्ता, दश दिनअघि ढलापडा छ कि भनेर हेर्न गएको पनि भनेका छन् । साथमा भिम दाई जो सामुदायिक वनका कोषाध्यक्ष हुन् उनलाई पनि लिएर रुख हेर्न गएको तर एउटा सानो रुख भेटेको त्यसपछि अर्को एउटा भेटेपनि पोचा परेकोले काट्नेले पनि नपोसाउने भएकोले काट्न समेत नमानेको भनेका छन् ।

‘अस्ति अगाडि बाजेलाई पनि भने । हप्ता १० दिनअघि । बाजे मेरो यस्तो छ । म आफै पनि घुम्न गए, ढलापडा छ कि भनेर हेर्न गयौं । त्यस्तो देखिएन । पछि भिम दाईलाई लिएर पनि गयौं । ढलापडा रैछ एउटा । सानो रैछ । १५, २० किवि पनि आउँदैन । एउटा रहेछ, त्यो पोचा परेको । कामै लाग्दैन । काट्ने मान्छेले काट्न मान्दैन । काट्नेलाई पनि पोसाउनु पर्यो नि त ।’ अडियोमा तिलक राईकै स्वर सुनिन्छ ।

उनले कोषाध्यक्ष भिम बस्नेतले लिएर जंगल गएको र फोटो खिचेर पनि ल्याएको अडियोमा भनेका छन् । साथमा गाउँलेहरुलाई नै काठ काट्ने, बोकाउने र मिस्त्री लगाएर घर बनाउने योजना समितिका पदाधिकारी र स्थानीयहरुलाई सुनाएका छन् । साथै स्थानीयलाई आर्थिक प्रलोभन पनि दिएका छन् । ‘भिम दाईले भन्नु भयो, भाई इट्टासिट्टाले बनाउ न । इट्टा होइन, टाँडे घरमा बस्न मन छ यहाँ गाउँमा । अहिले काठ भएको बेला । इट्टा त धरानजस्तो भै हाल्यो नि,’ मेयरले अडियोमा भनेका छन् ।

उनले धरानको हरियाली सामुदायिक वन समुहका चिनेजानेको भाईहरुलाई ४ सय दिएर रुख काट्नको लागि हेर्न ल्याएको तर टाढा भएको भनेर गुनासो गरेको पनि भनेका छन् । ‘अस्तिको दिन हेर्न ल्याएको थिए, दाई टाढा भयो भने । यति त गर्देन भाई, लकडाउन छ, कम्तीमा लकडाउनमा अफिस पनि जानु पर्दैन । यो दशैंअघि नै लकडाउनमा घर पनि बनाइहाल्छु ।’ अडियोमा भनिएको छ ।

रामायण जस्तै छर्लङ्ग हुने गरी मेयरले रुख काट्नुको कारण, उपायदेयता स्थानीय र वन समितिका अगाडी भनिरहेको अडियो सार्वजनिक भइरहँदा उल्टै विज्ञप्ति तयार गरी आफ्नो कुनै संलग्नता छैन भन्नु कुन नैतिकताले देला ? प्रश्न धरानबासीले उठाइरहेका छन् ।

वन कार्यालयको भूमिका किन कमजोर ?

भालढुंगा सामुदायिक वन उपभाेक्ता समितिले वन कार्यालयमा बुझाएकाे उजुरी ।

भालढुंगा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षणको जिम्मा लिएपनि त्यहाँ रहेका कुनैपनि वन तथा वन्यजन्तु वस्तुहरु कटानी, निकासी गर्न वन कार्यालयको स्विकृति अनिवार्य लिनुपर्छ । तर, भालढुंगा वनभित्र दिनदहाडै मेसिन लगाई छानीछानी मेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले रुख काट्न लगाएको हो भन्ने आधार प्रष्ट हुँदाहुँदै इलाका सव वन डिभिजन कार्यालय विष्णुपादुका तथा इलाका वन कार्यालय धरानलाई अनुसन्धान गर्न र दोषीमाथि कारवाही गर्न कसले रोकिरहेको छ ?

अहिले इलाका सव वन डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद यादवको भूमिका हेर्दा उनी घटनालाई त्यत्तिकै थामथुम पार्ने प्रयासमा देखिन्छन् । नत्र समितिका अध्यक्षले मेयर कै निर्देशन र प्रत्यक्ष सहभागितामा रुख काटेको हो भनेर किटानी दिँदा उनले किन किटानी लिन चाहेनन् ? किन वन समितिले नै यसको जिम्मेवारी लिनुपर्ने भन्दै सतही कुरा गरेर फर्किए ? सायद स्थानीयले दवाव नदिएको भए उनले समितिको उजुरी लिने थिएनन् । सामुदायिक वनहरुको निरीक्षणमा महत्वपूर्ण भूमिका खेल्ने राजेन्द्रप्रसाद यादवले वन तस्कर र केही सामुदायिक वन समुहको स्वार्थ सिद्धमा काम गर्ने गरेको स्थानीयकै भनाई छ ।

मेयरलाई गल्ती गर्न छुट छ ?

राज्यको जिम्मेवार पदमा बसेको स्थानीय तहको सरकार प्रमुखले नै कानुनको धज्जी उडाइरहँदा उनलाई कारवाही हुने कि नहुने ? प्रश्नहरु उठेका छन् ।

के मेयर हो भन्दैमा स्थानीय स्रोत साधनलाई मनपरी रुपमा दोहन गर्न छुट छ ? मेयरले गल्ती गर्यो एकपल्ट माफी दिउँ भन्ने कुन कानुनमा छ ? अथवा मेयरको ठाउँमा एउटा सामान्य परिवारको व्यक्तिले उक्त रुख काटेको भए उसलाई पनि ‘विचरा गल्ती गरिहाले छ एकपल्ट माफ दिउँ भन्न सकिन्छ ? अहिले टड्कारो रुपमा उठेका प्रश्नहरु हुन् । हावा नहल्ली पात हल्लिएन होला मेयर तिलक राईको अडियो प्रकरणले त्यहि भन्छ । यदि अडियो नक्कली हो र मेयरले भनेजस्तै कसैले फसाउन गरेको हो भने त्यस्तालाई पनि कानुनका दायरामा ल्याउन अपरिहार्य छ ।

मेयर तिलक राइ र उनकै निर्देशनमा काटिएकाे भनिएकाे सखुवाकाे रूख ।

त्यसो त धरान उपमहानगरपालिकाको मेयर भइसकेपछि तिलक राईको भूमिका सदैव विवादित भइरहेको छ । नगरको बजेट निर्माण तर्जुमा गर्ने देखि लिएर, नगरको विकास निर्माणमा उनले गरेका निर्णयहरु विवादमा परेका छन् । स्थानीय धरान–१८ को बुद्ध चोकमा निर्माण गरेको शालिकका विषयमा पनि प्रश्न उठेका थिए ।

त्यसवाहेक धरान उपमहानगरपालिका कार्यालयभित्र समेत उनले राजनीति घुसाएको आरोप छ । गएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका राईले पदमा बसेपछि सबैको साझा हुनुपर्नेमा दलिय स्वार्थमा चल्ने गरेको स्थानीयहरुको भनाई छ ।

यी विवाद र अहिले बाहिर आएको ‘रुख काण्ड’मा निष्पक्ष छानविन हुन आवश्यक छ । जनप्रतिनिधिले जनताका पक्षमा काम गर्नुपर्नेमा व्यक्तिगत स्वार्थमा लाग्छ । पदीय दुरुपयोग गर्दै राज्यको स्रोत साधनको गलत फाइदा उठाउँछ भने त्यस्ता जनप्रतिनिधिलाई नियामक निकायले अनुसन्धान गर्न, कारवाहीको दायरामा ल्याउन चुक्नु हुँदैन । यदी त्यसो गरियो भने, त्यसले न्यायालयको सिद्धान्तमै गलत नजिर स्थापित हुन्छ । उसैपनि ‘नेपालको कानुनः सानालाई एैन ठूलालाई चैन’ भनिन्छ । यसलाई स्थापित गर्न नखोजियोस । रुख काण्डमा पनि सत्यतथ्य बाहिर आवोस् ।

वन ऐनले २०७६ ले राष्ट्रिय वन भित्रको रुख बिरुवा काट्ने कार्यलाई दण्डनीय बनाएको छ । ऐनको दफा ४९ (छ) ले ’राष्ट्रिय वनक्षेत्रको रुख वा बिरुवा काट्ने, हाँगा बिँगा छिमल्ने, खोटो वा बोक्रा झिक्ने वा कुनै पनि प्रकारले नोक्सानी गरेमा’ कसुरको रूपमा हेरेको छ । रुख काटेको विषयमा बिगोको आधारमा एक महिना देखि २ वर्ष सम्म कैद र आर्थिक जरिवानाको व्यवस्था छ । ऐनको दफा ५० को उपदफा ६ ले सजायको व्यवस्था गरेको छ । उपदफा ६ (ङ) एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको बिगो भए एक वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै, तथा (च) पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिबाना वा दुवै हुने व्यवस्था छ ।

याे पनि हेर्नुहाेस

प्रतिशोध साँध्ने उद्देश्यले नाम जोडिएको धरानका मेयरको प्रष्टोक्ति
धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *