विश्वभर संक्रमितको संख्या २ करोड ८३ लाख नाघ्यो, ९ लाख १३ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ भने ९ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ८३ लाख २४ हजार ६६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख १३ हजार ९०८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ३ लाख ३९ हजार ९० जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ९६ हजार ३२८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ८११ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४२ लाख ३९ हजार ७६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९२२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २९ हजार ५७५ पुगेको छ ।

नेपालमा विहिबार देशभर गरी १ हजार २४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० हजार ४६५ पुगेको छ । अहिले नेपालमा १४,४४८ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,४३८ घरमै छन् भने बाँकी ८,०१० संस्थागत आइसोलेशनमा छन् । ३५ हजार ७०० सङ्क्रमित निको भइसकेका छन् भने ३१७ जनाको मृत्यु भएको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया