नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्वय बीच भएको १५ बुँदे प्रस्ताव पेश हुनेछ । बैठकले विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल गर्नेछ ।

यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत बैठकमा सामान्य छलफल हुने बताइएको छ ।

बैठक आजै सक्ने तयारी
नेकपाले असार १० देखि सुरु बैठक आजै विधिवत् रूपमा टुंग्याउने तयारी गरेको छ । कोरोना संक्रमणका कारण धेरै समय भेला हुन नहुने र अध्यक्षद्वयकै बीचमा विवाद मिलिसकेकाले बैठक सकेसम्म छोटो बनाउने तयारी नेकपाले गरेको हो ।

तर माधवकुमार नेपाल पक्षले भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरुको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

प्रतिक्रिया