बाढीपीडितलाई राहत लिएर बागलुङ पुगे पल र दुर्गेश

काठमाडौं । लोकप्रिय नायक पल शाह र गायक दुर्गेश थापा चामलको भारी बाेकेर बागलुङ पुगेका छन् । बागलुङ ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ मा भदौ १७ गते भुजिखोलामा आएको बाढीले ठूलो धनजनको क्षति भएको थियो । त्यहाँका करिब ४० घर बगेकाे थियाे भने ३६ जना बेपत्ता थिए । तीमध्ये केहीकाे शव फेला परेकाे थियाे ।

उद्धार र राहत वितरण अहिले पनि भइरहेकाे छ । नायक पल र गायक थापा पनि बाढीपीडित परिवारलाई राहत वितरणकै लागि त्यहाँ पुगेका हुन् । उनीहरूले आ–आफ्नो सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी गराएका हुन् ।

केहि दिनअघि दुवैले आ-आफ्ना फेसबुक मार्फत् सहयोगका लागि अपिल समेत गरेका थिए । जम्मा भएको सहयोग संकलन गरी पल र दुर्गेश चामलको बोरा बाेकेर गएकाे मंगलबार बिहान बागलुङ पुगेका हुन् ।

‘बागलुङका बाढीपहिरो पीडितका लागि सिरक, डसना, नुन, तेल चामल सबै लोड भयो है,’ आबुखैरेनी पुगेको जानकारी दिँदै पलले मंगलबार दिउँसो फेसबुकमा लेखेका छन्,’ अनि आज बिहानको खाना आबुखैरेनीको झरनाको तल ।’ पलले झरनामुनि बसेर कागजको प्लेटमा खाना खाइरहेको, चामल बोकिरहेको केही तस्बिर समेत आफ्नो फेसबुकमा राखेका छन् ।

‘पहिरो पीडितको सहयोगका लागि हामी हिँडिसकेका छौं,’ मंगलबार साँझ पाँच बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘उहाँहरूको पीडामा थोरै भएपनि मल्हम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौँ । यति बेला हामी यात्रा अघि बढाउँदै छौँ।’

नायक तथा मोडल पल शाह पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिएका छन् । केही समयअघि पनि कालिकोट पहिरोमा परेकालाई सहयोग गर्न उनी घटनास्थलमा राहत लिएर पुगेका थिए । काठमाडाैंमै पनि चलचित्र क्षेत्रका प्राविधिकहरूलाई उनले सहयाेग गरिसकेका छन् ।

प्रतिक्रिया