न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी नेतृत्वले किन दिए राजीनामा

काठमाडौं । अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन् । एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन् ।

गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा मृत्यु भएको खुलासा गत साता भएपछि रोचेस्टर सहरका प्रहरीले उक्त घटना लुकाउन खोजेको भन्दै चर्को आलोचना भएको थियो । त्यही आलोचनाका माझ राजीनामा दिएका वरिष्ठ प्रहरी अधिकारीहरूविरुद्ध अभियोग लाग्नुपर्छ कि पर्दैन भन्ने कुरा अब एउटा बृहत् जुरीले निश्चित गर्नेछ । प्रुडको पक्राउमा संलग्न सातजना प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ ।

जातिवादविरोधी प्रदर्शन
४१ वर्षीय प्रुडलाई प्रहरीले पक्राउ गर्दा उनी चरम मानसिक स्वास्थ्य समस्यामा रहेको बताइएको छ । लुगा नलगाइ बाटोमा दौडिरहेको अवस्थामा प्रुडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र टाउकोदेखि घाँटीसम्म छोप्ने ‘स्पीट हूड’ लगाइदिएको थियो ।

उक्त घटनाको भिडिओ दृष्य हालसालै मात्रै देखा परेपछि प्रदर्शनहरू चर्को रूपमा हुन थालेका छन् । अमेरिकाकै अर्को राज्य मिनेसोटामा प्रहरी हिरासतमै रहेका बेला जोर्ज फ्लोइडको मृत्यु भएको घटनाले देशभर जातिवादविरोधी प्रदर्शनहरू चर्काएको तीन महिनापछि फेरि प्रहरीको व्यवहारलाई लिएर प्रदर्शनहरू भइरहेका छन् ।

‘चुप लागेर बस्दिन’
रोचेस्टरका प्रहरी प्रमखु ल’रोन सिङ्गलटरीले मङ्गलवार जारी गरेको एउटा विज्ञप्तिमा भनेका छन्, “निष्ठा भएको मानिस हुँ त्यसैले अरूले मेरो बदनाम गराउन खोजिरहँदा म चुप लागेर बस्ने छैन ।” उनले आफ्नो कार्यालयले प्रुडको हत्यालाई लुकाउन खोजेको भन्ने आरोप पनि अस्वीकार गरे ।

यसअघि सहायक प्रहरी प्रमुख जोसेफ मोराबिटोले पनि आफूले प्रहरी सेवामा रहेर ३४ वर्ष काम गरेको उल्लेख गर्दै राजीनामा दिने बताएका थिए । उक्त सहरकी मेयर वारेनले अन्य वरिष्ठ अधिकारीहरूले पनि राजीनामा दिनसक्ने एपी समाचार संस्थालाई बताएकी छन् । संस्थागत जातिवादले गर्दा नै प्रुडको ज्यान गएको उक्त सहरकी प्रमुखले यसअघिनै बताइसकेकी छन् ।

तर आफूले प्रहरी प्रमुख सिङ्गलटरीको राजीनामा नमागेको उनले बताइन् । यसअघि मेयर वारेनले सिङ्गलटरी सेप्टेम्बरको अन्त्यसम्म प्रहरी कार्यालयमा प्रमुखकै रूपमा रहने बताएकी थिइन् ।-बीबीसी

प्रतिक्रिया