काठ तस्कर गर्ने मेयर चाहिँदैन भन्दै धरानमा प्रदर्शन ! (भिडियाे सहित)

धरान । सामुदायिक वनको सखुवाको रूख कटान प्रकरणमा धरानका मेयरको राजिनामा माग गर्दै सत्तारूढ नेकपाको राष्ट्रिय युवा संघ नेपालले प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयमा ज्ञापनपत्र बुझाउँदै प्रदर्शन समेत गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राइको निर्देशनमा गत भदौ १३ गते शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहभित्र अबैधानिक रूपमा सखुवाको रूख काटेको विषयमा दोषीलाई कडा कारवाहीको माग गर्दै राष्ट्रिय युवा संघ नेपालले आज वन निर्देशनालयमा ज्ञापनपत्र बुझाउँदै नाराबाजी समेत गरेको छ ।

तस्विरहरूः भरतराज शर्मा (गाेपाल)

राष्ट्रिय युवा संघका कार्यकर्ताहरूले ‘तस्करी मेयर चाहिँदैन, काठ तस्करीलाई कारवाही गर’ जस्ता नाराबाजी गरेका थिए ।
राष्ट्रिय युवा संघले विज्ञप्ति जारी गर्दै भालढुंगा सामुदायिक वन समुहको सखुवाको रुख मेयर तिलक राईको निर्देशनमा काटिएको विषयमा निष्पक्ष छानविन गर्दै दोषि माथि कडा कारवाहीको माग गरेको छ । उनीहरूले मेयरकाे राजिनामा समेत माग गरेका छन् । भने मेयरलाई जाेगाउने लाइ समेत कारवाहीकाे माग गरेका छन् ।

राष्ट्रिय युवा संघका धरान उपमहानगर समितिका नगर अध्यक्ष विजय तामाङद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिकै संलग्नतामा काठ तस्कर हुनु गम्भिर विषय भएको भन्दै कानुन अनुसार दण्ड सजायको माग गरीएको छ । बिज्ञप्तिमा कुनै पदिय बहानामा दोषीलाई उम्काउने काम गरी वन पैदाबर हानी नोक्सानी कार्य गर्नेलाई प्रोत्साहन गर्ने कार्य गरिएमा त्यसबाट सिर्जित हुने दुस्परिणामको सम्बन्धित पक्ष नै जिम्मेवार हुने समेत चेतावनी दिइएकाे छ ।

गत भदौ १३ गते उक्त सामुदायिक वन समुहभित्रको सखुवाको रुख मेयर तिलक राईकै निर्देशनमा काटिएको वन समुहका अध्यक्ष बुद्धिमान तामाङले किटानी जाहेरी दिइसकेका छन् । घटनामा सम्बन्धमा डिभिजन वन कार्यालय सुनसरीले डिभिजन सव वन कार्यालय विष्णुपादुकाका अधिकृत राजेन्द्र प्रसाद यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

मेयर राईले भने रुख आफ्नो निर्देशनमा नकाटेको दाबी गर्दै आएका छन् । मावली गाउँमा घर बनाउनको लागि काठ माग गर्दै निवेदन दिएका मेयर राईको निर्देशनमा वन समुहका कोषाध्यक्ष भिम बस्नेतको रोहबरमा काटिएको आरोप छ । यही व्यवहोराको उजुरी वन समुहका अध्यक्षले सब डिभिजन कार्यालयमा दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =