प्रजिअको धम्किपूर्ण भाषाप्रति प्रेस युनियनको आपत्ती

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको प्रति नेपाल प्रेस युनियन चितवन शाखाले गम्भिर ध्यानाकर्षण सहित आपत्ति जनाएको छ ।
न्यूज २४ का चितवन संवाददाता केदार शर्माले मलमा भइरहेको कालोबजारीको सम्बन्धमा बुझ्नलाई चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइलाई फोन गर्दा उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । प्रजिअले यो बिषयमा धेरै ध्यान नदिनु भन्ने आशयसहित, तपाईको बारेमा समेत आरोप छ त्यो भए राम्रो हुदैन भन्दै उल्टै पत्रकारलाई सर्तक रहन भनेको अडियो सार्वजनिक भएको छ ।
त्यस्तै चितवनका अर्का पत्रकार शिशिर सिंखडाले समेत मलको बिषयमा बुझ्न खोज्दा उनीमाथी समेत प्रजिअले रुखो प्रस्तुती देखाएका छन् । कालोबजारीको बिषयमा समाचार लेख्ने र लेख्नको लागि बुझ्न खोज्दा पत्रकारहरुप्रति गरिएको व्यवहारप्रति नेपाल प्रेस युनियन चितवन शाखाले आपत्ति जनाएको हो । जिल्लामा मलको कालोबजारी रोक्न नसक्ने स्थानिय प्रशासन उल्टै पत्रकारमाथि खनिनुलाई शंकाको रुपमा हेरिएको युनियनका अध्यक्ष अनिल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दोषीलाई कारबाहीको सट्टा उन्मुक्ति दिने आशयले पत्रकारहरुप्रति नै आक्रोशित हुँदै प्रमुख जिल्ला अधिकारीले दिएको प्रतिक्रियाले स्वतन्त्र पत्रकारिताको अवमुल्यन गरेको जनाइएको छ ।









