निजी क्षेत्र भन्छ- सरकारले भन्ने बित्तिकै राजश्व तिर्न हामीसँग पैसा छाप्ने मेसिन छ र ?

काठमाडौं । नेपालमा कोरोना संक्रमण त्रासले व्यापार व्यवसाय बन्द भएको ७ महिना भइसकेको छ । उद्योगी र व्यापारीहरु बस्तु उत्पादन र बिक्री वितरण बन्द भएर उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसकेका छन् ।

अति आवश्यक बाहेकका उद्योगधन्दा बन्द भएका कारण उद्योगीहरु बैंकको ऋणको साँवा, ब्याज र मजदुरको तलबको कारण समस्यामा पर्दै आएका छन् । तर सरकारले निषेधाज्ञा जारी नै रहेको अवस्थामा उद्योगी व्यापारीलाई राजश्व तिर्नका लागि भनेर राष्ट्र बैंकले सबै बैंकको राजश्व काउन्टर खोल्न निर्देशन दिएको छ ।

उद्योगधन्दा बन्द भएका कारण उद्योगीहरु समस्यामा परिरहेको समयमा सरकारले राजश्व तिर्न भन्दा झनै समस्या थपिएको छ । उत्पादन सामाग्री बिक्री गरिएकाे पैसा समेत उठ्न नसकेकाे याे अवस्थामा सरकारले राजश्व तिर भन्ने बित्तिकै तिर्न पैसा नभएकाे प्रतिक्रिया व्यवसायीहरूले दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योग र व्यापार नै बन्द भएको अवस्थामा उद्योगी र व्यापारीले राजश्व तिर्न सक्ने अवस्था नै नभएको बताए । उनले भने, ‘सरकारले राजश्व मात्रै तिर भनेर हुँदैन । सबै क्षेत्र बन्द जस्तै रहेकोले उद्योगी र व्यापारी पनि समस्यामा छन् ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सरकारलाई यो निषेधाज्ञाको समयमा राजश्व तिर्न नसकिने भनेर पत्र पठाएको बताए । उनले भने, ‘देशको अर्थतन्त्र नै खराब अवस्थामा छ । उद्योगी र व्यापारी समस्यामा रहेका छन् । अनि यस्तो अवस्थामा कसरी राजश्व तिर्ने ? यो त सरकारले पनि बुझ्ने कुरा हो । सरकारले राजश्व तिर्ने समय थप गर्छ भन्ने आशा गरेका छाैँ ।’

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि २५ गते भित्र व्यापारीले राजश्व तिर्न सक्ने अवस्था नरहेको भनेर सरकारलाई पत्र पठाएको बताए । सबै क्षत्र बन्द रहेकाले यो समय राजश्व तिर्न सक्ने अवस्था नरहेको उनकाे भनाइ छ ।

नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगीहरुको छलफल हुँदा पनि अहिले तत्काल उद्योगी र व्यापारीहरु राजश्व तिर्न नसक्ने अवस्थामा रहेको भनेर जानकारी गराएको बताए ।
उनले भने, ‘हामीले सरकारलाई तिर्नुपर्ने राजश्व तिर्छाैँ भनेका छाैँ । तर, अहिले व्यापारी र उद्योगीहरुको बजारबाट पैसा नउठेका कारण केही समय थप गर्न भनेका हाैँ ।’

स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखः स्टीलका डाइरेक्टर किरण साखःले सरकारले पैसा तिर भन्ने बित्तिकै उद्योगीले पैसा तिर्न उद्योगीसँग पैसा छाप्ने मेसिन छ र ? भन्दै प्रश्न गरे । उनले भने, ‘सरकारले उद्योग नै बन्द गरेको करिब ७ महिना भइसकेको छ । यो निषेधाज्ञा कै समयमा उद्यागीलाई सरकारले पैसा तिर भन्दा झन् समस्या भएकाे छ ।’

यस्तो बेलामा उद्योगीले कहाँबाट पैसा ल्याएर सरकारलाई राजश्व तिर्ने ? उद्योगीको बस्तु उत्पादन भएर बजारमा जान सकेको छैन । पहिले नै उत्पादन भएर बजारमा बिक्री भइसकेको बस्तुको पनि बजारबाट पैसा उठ्न नसकेको साखःले बताए ।

सरकारले निषेधाज्ञाको समयमा कोरोनाबाट सुरक्षित रहन भन्दै बैंकको निश्चित मात्रै शाखा खोल्न दिएको थियो । तर निषेधाज्ञा कै बिचमा सरकारले उद्योगी र व्यवसायीहरुलाई राजश्व तिर्न भन्दै आज देखि ३ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *