नेवि संघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

सुनसरी । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा आज नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । सेमेष्टर तहका विद्यार्थीहरूलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोध जनाउँदै नेविसंघका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

कोरोनाको विषम परिस्थितिमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने र परिस्थिति सहज नभएसम्म सेमेस्टर तहका विद्यार्थीहरूलाई शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै तालाबन्दी गरेको नेविसंघले जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दे अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ । ‘अनलाइन कक्षा अहिलेको समयमा अत्यन्त महत्त्वपूर्ण उपयोगी र आवश्यक भएको अवस्थामा कुनै पनि शुल्क नलिई अनलाइन कक्षा सञ्चालन गर्नका निम्ति नेविसंघ हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सेमेस्टर तहका विद्यार्थीहरूलाई परिस्थिति सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष दोर्ची शेर्पाले जानकारी दिएका छन् ।

यसैबीच हिजो मात्रै अनेरास्ववियु धरानले भदौ २८ गतेदेखि सुरु गर्ने अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सूचना जारी गरेपछि आपत्ति प्रकट गरेको थियो ।

अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सूचना तत्काल सच्याउन पनि माग गरेका थिए ।

संगठनले कोभिड १९ ले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरूलाई शुल्क नलिई कक्षा सञ्चालन गर्न पनि माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *