बलराम मिश्र, शारदा अधिकारीलगायतलाई सरकारले कारबाही नगरे आफैँले गर्ने विप्लवको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले कारबाही नगरे आफैँले कारबाही गर्ने चेतावनी दिएको छ ।

समूहको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै सरकारी तवरबाट कारबाही गर्न नसकिए आफ्नै पार्टीले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत लगाइएको आरोप विप्लव समूहले लगाएको छ ।

विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामा लगायतले ६ अर्ब भन्दामाथिको कमिसनको खेल र सेटिङ्ग नेपाली जनताको सम्पत्ति लुट्ने गर्ने डिजाइन गरेको र सो कुरा सरकारले नसुनेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूलाई मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदारलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारीहरूलाई पार्टी स्पष्ट गर्दछ । त्यो बेला राज्यका सञ्चालकहरूले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चायो, लोकतन्त्रलाई चुनौती दियो लगायतका आरोप लगाउन पाइने छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =