चन्द्रागिरिमा करेन्ट लागेर युवककाे मृत्यु, स्थानीयद्वारा वडाध्यक्षकाे घरमा ढुंगामुढा

  • राेसन दानी

काठमाडाैं । चन्द्रागिरि नयाँ नैकापमा हाईटेन्सन लाइनबाट करेन्ट लागेर एक युवाको मृत्यु भएपछि स्थानीयले वडाध्यक्षकाे घरमा ढुंगामुढा गरेका छन् ।

शुक्रबार ७ बजेतिर चन्द्रागिरि नगरपालिका-१४, नयाँ नैकापमा हाईटेन्सन लाइनबाट करेन्ट लागेर साेही वडका स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जनकाे मृत्यु भएकाे थियाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरि स्पाेर्टस क्लबको निर्माणाधीन भवनमा करेन्ट लागेर महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको बताए ।

प्रहरीका अनुसार हाईटेसन्सन लाइनको मुनि क्लबको भवन ढलान गर्न नहुने भन्दै बिहान महर्जन उक्त भवनमा जाँदा तारले छुँदा करेन्टले समातेको थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका थिए ।

यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भएपनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरका सिसा समेत फुटाइदिएका छन् ।

चन्द्रागिरि युथ क्लबले विना जानकारी सार्वजनिक जग्गामा भवन बनाउँदै गरेकाे एक स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार मृतक महर्जन सामाजिक अभियान्ताका साथै सार्वजनिक जग्गा संरक्षणमा लाग्दै आएका व्यक्ति थिए ।

‘पटक पटक त्यसविरुद्ध स्थानीयवासीले १४ साउनमा वडा कार्यालयमा निर्माण रोक्न भन्दै उजुरी दिएका थियौँ । तर, वडाध्यक्षज्यूले चासो दिनु भएन । त्यसपछि के गर्ने भनेर सार्वजनिक जग्गा संरक्षण अभियान्ताबीच छलफल भइरहेको थियो’, एक स्थानीयले भने ।

त्यसै शिलशिलामा भवन कसरी बन्दै रहेछ भनेर हेर्न जाने क्रममा घटना भएको अर्का एक स्थानीयले बताए । ती स्थानीय भन्छन्- ‘महर्जन त्यहाँ राखिएको भर्‍याङबाट माथि जाँदै हुनुहुन्थ्यो । छतमा हाइ इन्टेन्सन लाइनका कारण मृत्यु भएको हो । उहाँकाे परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =