उपत्यकामा किन ह्वात्तै बढिरहेका छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तरपनि पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

साउनदेखि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको काठमाडौंमा भदौयता हवात्तै बढेको छ । सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन् । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले । व्यापार व्यवसाय पनि चलाउन थालियो । मजदुरहरू काममा लागे ।

तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन, जुन संक्रमण फैलिनुको कारण बन्यो । अहिले निषेधाज्ञा जारी छ तर, संक्रमणदर भने हवात्तै बढेको छ । कोरोना संक्रमण काठमाडौंका सबैजसो वडामा देखिएको छ । तीमध्ये असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित ७ हजार नाघे
उपत्यकामा संक्रमितको संख्या सात हजार नाघेको छ । बिहीबारसम्ममा ४ सय ९६ जना थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ७ हजार ३८ पुगेको हो ।

अहिलेसम्म काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना संक्रमित भइसकेका छन् । हाल उपत्यकामा बालबालिका, बुढापाका गरी हरेक उमेर समूहका संक्रमित देखिएको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको भनाई छ ।

उनका अनुसार सुरक्षाकर्मी, बैंकका कर्मचारी, साना-ठूला व्यवसायी, स्वास्थ्यकर्मी, उपचारमा आएका बिरामी, समुदायका अन्य व्यक्तिलगायतमा संक्रमण बढी मात्रामा देखिएको छ । पछिल्ला केही दिनहरूमा काठमाडौंमा भेटिएका कोरोना संक्रमित बाहिरका जिल्लाबाट आएको नदेखिएको पाइएको छ ।

केहि महिना पहिलेसम्म काठमाडौं बाहिरका जिल्ला र भारतबाट आएकाहरूबाट कोरोना सरेको देखिएको थियो तर अहिले भने बाहिर भ्रमण नगरेका व्यक्तिमा समेत कोरोना देखिएको छ । यो भनेको काठमाडौंमा दोस्रो चरणको संक्रमण शुरु भयो भनेर बुझ्न सकिने विज्ञहरु बताउँछन् ।

यी ११ जिल्लामा छन् १००० भन्दा बढी संक्रमित
नेपालमा अहिले १ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएको जिल्ला ११ पुगेका छन् । काठमाडौंमा भने संक्रमितको संख्या ५ हजार नाघेको हो ।

काठमाडौंसहित तराईका १० जिल्ला गरी देशभरका ११ जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार नाघेको हो । पश्चिम कैलालीदेखि पूर्व मोरङसम्मका विभिन्न १० जिल्लामा प्रतिजिल्ला एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, बाँके, कपिलवस्तु, रूपन्देही तथा मोरङमा १ हजारभन्दा बढी संक्रमित छन् । यसैगरी प्रदेश २ का पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि १ हजारभन्दा बढी संक्रमित छन् ।

विहिबार देशभर गरी १ हजार २२८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ हजार ८७७ पुगेको छ । अहिलेसम्म २४,२०७ सङ्क्रमित निको भइसकेका छन् भने २५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *